दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

विराटनगर । असोज १८

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको हिजो रातिको खेलमा दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ ।

शारजाह क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले यस सिजनकै सबैभन्दा धेरै २ सय २९ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको कोलकताले ८ विकेटको क्षतिमा २ सय १० रन मात्र जोड्न सफल भएको थियो । यो जीतसँगै दिल्ली लिगको शीर्ष स्थानमा पुगेको छ ।

दिल्लीका लागि ३८ बलमा ७ चौका र ६ छक्का सहित ८८ रन बनाएका कप्तान श्रेयस अय्यर म्यान अफ द म्याच घोषित भए । त्यस्तै, दिल्लीका लागि पृथ्वी शाहले ४१ बलमा ६६ रनको योगदान दिए भने ऋषभ पन्तले ३८ रन जोड्न सफल भएका थिए ।

यसैगरि कोलकताका लागि नितिष रानाले सर्वाधिक ५८ रन, इयोन मोर्गनले ४४ रन, राहुल त्रिपाठीले ३६ रन जोड्न सफल रहेका थिए । दिल्लीका लागि एनरिच नोर्तजे ले ३ विकेट तथा हर्षल पटेलले २ विकेट लिन सफल रहे ।