उपचारको क्रममा मृत्यु भएका दुई पुरुषमा कोरोना पुष्टि

२९ श्रावण २०७७, बिहीबार

वीरगञ्ज, २९ साउन । वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएका बारा प्रसौनी र सिमराका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मदन उपाध्यायका अनुसार मृत्युपछि दुवैको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाराको प्रसौनी गाउँपालिकाका पूर्वगाविस अध्यक्ष दिनेश साह कलवारको आज बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको हो । तीन–चार दिन पहिले ज्वरो आएपछि नारायणी वयोधा अस्पतालमा भर्ना भएका ७० वर्षीय कलवारको मृत्युपछि परीक्षण गर्दा कोरोना देखिएको थियो ।

त्यसैगरी नारायणी अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएका अर्का बाराको सिमरा निवासी ५० वर्षीय पुरुषको पनि मृत्युपछि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

सिमरा निवासी पुरुष झाडापखालाले सिकिस्त भएपछि थप उपचारका लागि गएराति वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो । -Koshi Online