न्यूरोड क्षेत्रका एक व्यापारीमा कोरोना देखिएपछि विशालबजार क्षेत्र बन्द

३० श्रावण २०७७, शुक्रबार

काठमाडाैं, ३० साउन । काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड—१९) संक्रमण देखिएपछि पसलहरू बन्द गरिएको छ ।


व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मका पसलहरू बन्द गरिएको हो ।

शुक्रबारबाट लागू हुनेगरी ७ भदौसम्म त्यसक्षेत्रका सबै पसलहरू बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ ।

वडा कार्यालयले विज्ञप्ती जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना नियन्त्रण गर्न आवश्यक रहेकाले ३० साउनदेखि ७ भदौसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘‘न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा ७ भदौम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।’’