अमेरिकाले आफ्ना नागरिकहरूलाई कोरोना भाइरसविद्धको खोप निःशुल्क दिइने

३० श्रावण २०७७, शुक्रबार

वासिंग्टन, ३० साउन । अमेरिकाले आफ्ना नागरिकहरूलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरूले एकपटक औषधिको प्रभावकारिता सुनिश्चित भएर अनुमति पाएपछि नागरिकमा कोरोना भाइरसविरुद्धको खोप निःशुल्क वितरण गर्ने बताएका छन् ।

अमेरिकाले कोरोना भाइरसविरुद्ध लड्ने ६ वटा खोपको विकासको प्रोजेक्टमा १० बिलियन अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ ।
अमेरिकाले सबै क्लिनिकल परीक्षण स्वीकृत भएपछि खोपका करोडौं डोजहरू वितरण गर्ने सम्झौता पनि गरिसकेको छ ।

खोपको डोजको खर्च सरकार आफैंले उठाउने र बिरामीहरूलाई खोप लगाउने चिकित्सक तथा क्लिनिकहरूलाई बीमा कम्पनीले भुक्तान गर्ने बताएको छ ।

अमेरिकाका वरिष्ठ स्वास्थ्य अधिकारी पल म्याङ्गोले निजी बीमा कम्पनीले उक्तकुरामा सहमति जनाएको बताएका छन् ।

सन् २०२१ जनवरीसम्म करोडौं डोज वितरण गरिने उनको भनाइ छ ।अमेरिकी सरकारले लगानी गरेको यी ६ खोपहरूमध्ये एक खोप वर्षको अन्त्यसम्म उत्पादन हुने राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) का निर्देशक फ्रान्सिस कोलिन्सले आशा राखेका छन् ।