अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने

३२ श्रावण २०७७, आईतवार

विराटनगर, ३२ साउन । अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् ।

कोरोना विषाणुका कारण पनि यो नयाँ पद्धति प्रभावकारी हुने देखिएको छ । पैसाबाट पनि कोरोना विषाणु सर्नसक्ने सम्भावनाले नगदमा भाडा सङ्कलन गर्दा हुनसक्ने सम्पर्क न्यून गर्न कार्डबाट भुक्तानी प्रणाली उपयोगी हुने देखिएको छ । साझा यातायातले यसअघि नै कार्डबाट भाडा लिन सुरु गरिसकेको छ ।

त्यस्तै एनएमबी बैङ्कले किपु बस सेवासँग सहकार्य गरी विद्युतीय भुक्तानीको प्रबन्ध मिलाउने सम्झौता गरिसकेको छ । आइतबारदेखि सुन्दर यातायातले विद्युतीय भुक्तानी प्रणाली (डिजिटल पेमेन्ट सिस्टम) सुरु गर्ने र त्यसका लागि मेसिन जडान गर्ने भएको छ । योसँगै पेमेन्ट कार्ड लिएर गाडीमा रहेको मेसिनमा पठाएपछि कार्डमा रहेको पैसाबाट गाडी भाडा तिरिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ .