अमेरिकाद्वारा इरानी तेलमाथि कब्जा

३२ श्रावण २०७७, आईतवार

इस्लामिक रिभोलुसनरी गार्ड कार्प्सको लाखौं डलर मूल्य बराबरको तेल नियन्त्रणमा लिएको अमेरिकी न्याय मन्त्रालयको भनाइ  ।

वासिङ्टन — अमेरिकाले हालसम्मकै ठूलो मात्रामा इरानको तेलमाथि कब्जा गरेको छ । चारवटा जहाजमा भेनेजुएला पठाउन लागिएको ११ लाख ब्यारेल तेल ‘विदेशी साझेदारहरूको सहयोगमा’ नियन्त्रणमा लिइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ती जहाजले अमेरिकी प्रतिबन्ध उल्लंघन गरेकाले नियन्त्रणमा लिइएको हो ।

भेनेजुएलाका लागि इरानी राजदूतले ती जहाज र तिनका मालिक इरानी नरहेको दाबी गरेका छन् । अमेरिकाले गत महिना अदालतमा मुद्दा हालेपछि एक न्यायाधीशले ती चारवटा जहाज कब्जा गर्न स्वीकृति दिएका थिए ।

अमेरिकी न्याय मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘इस्लामिक रेभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को लाखौं डलर मूल्यको तेल सफलतापूर्वक कब्जामा लिइएको’ जनाएको छ । बेरिङ, पान्डी, बेला र लुना नामका ती जहाजहरू अहिले कहा छन् भन्नेबारे केही उल्लेख गरिएको छैन ।

बीबीसीका अनुसार भेनेजुएलाका लागि इरानी राजदूत होजात सोल्तानीले जहाज नियन्त्रणमा लिइएका विवरण गलत रहेको दाबी गरेका छन् । ‘यो अर्को झूट र अमेरिकाको गलत प्रचारको मनोवैज्ञानिक युद्ध हो,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । सन् २०१८ मा अमेरिकाले एकपक्षीय रूपमा इरानसँगको परमाणु सम्झौताबाट अलग भएपछि दुई देशबीच तनाव उत्कर्षमा छ । अमेरिकाले इरान र भेनेजुएलाविरुद्ध तेल निर्यातलाई लक्षित गरी प्रतिबन्धहरूको घोषणा गरेको छ । भेनेजुएलाबाट राष्ट्रपति निकोलस मडुरोलाई शक्तिबाट हटाउन चाहने अमेरिकी प्रशासनले इरानी नेताहरूको व्यवहार परिवर्तन होस् भन्ने चाहन्छ ।

(Source:-Ekantipur)