पेट्रोलियम पदार्थको भाउ बढ्यो

३२ श्रावण २०७७, आईतवार

काठमाडौं, ३२ साउन । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर एक–एक रुपैयाँ बढाउने निर्णय गरेको जानकारी दिए ।

यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय पाँच रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९१–९१ रुपैयाँ पुगेको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचिअनुसार मूल्य बढाएको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् नै रहेको उनले जानकारी दिए ।