कर्णालीका तीन जिल्लामा निषेधाज्ञा

१ भाद्र २०७७, सोमबार
तस्विर :- गूगल

भदौ १, विराटनगर । कर्णाली प्रदेशका तीन जिल्लामा सोमबार बिहानबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुर्खेत, जुम्ला र मुगुमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै निषेधाज्ञा लगाइएको हो ।

संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गरिने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारीजस्ता अत्यावश्यक सेवा तथा व्यवसाय सञ्चालन गर्न पाइने छ ।

त्यसैगरी स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवाका कार्यालयबाहेक बैंक, वित्तीय संस्था, सहकारी लगायतका सेवा बन्द हुनेछन् । एम्बुलेन्स, शववाहन, दमकल, भीआईपीका झण्डासहितका गाडी, सुरक्षा, स्वास्थ्य, कूटनीतिक नियोगका सवारी साधन, प्रेस तथा सञ्चारकर्मीका सवारी साधन पनि निषेधाज्ञा अवधिमा चलाउन पाइने स्थानीय प्रशासनले जानकारी दिएका हुन ।