युट्युब म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएकोले , कारवाहीको माग

२ भाद्र २०७७, मंगलवार

विराटनगर। युट्युब म्युजिक भिडियोमा नेपाली राष्ट्रीय झण्डा जलाएको सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कारवाहीको माग उठेको छ ।

सोमबार, पछिल्लो समय भाइरल भएको म्युजिक भिडियो, जुन युट्युबमा प्रकाशित छ, सो भिडियोमा नेपालको राष्ट्रियता र जातीय सद्भावका बारेमा आपत्तिजनक शब्द प्रयोग गरिएको छ । भिडियो सार्वजनिक भएलगतै कारवाहीको माग उठेको हो ।

‘मंगोल हप अफिसियल’ नामक च्यानलमा ‘देशद्रोही’ शीर्षकको गीत सार्वजनिक भएको थियो । जातिय सदभाव खलबल्याउने आपत्तीजनक शब्द प्रयोग गरी, राष्ट्रिय झण्डा जलाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले कारवाही गर्न नेपाल प्रहरीलाइ आग्रह गरेका छन ।

गीतमा र्यापरको नाम गोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ । युट्युब म्युजिक भिडियोको गीत मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालय क्षेत्रमा सुटिङ गरिएको भिडियोमा देख्न सकिन्छ र भिडियोमा नेकपा नेता र  पूर्व राजा ज्ञानेन्द्र साहको तस्बिर पनि जलाइएको देखाइएको छ ।