विराटनगरको कोभिड अस्पतालमा उद्घाटनको पाँचमहिना पछि आईसियु र भेन्टिलेटर जडान

४ भाद्र २०७७, बिहीबार

विराटनगर, ४ भदौ । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उद्घाटनको पाँचमहिना पछि आईसियु र भेन्टिलेटर जडान भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरे अनुसार संक्रमितको उपचारका लागि १० वटा आईसियु र पाँचवटा भेन्टिलेटरसहितको बेड राखिएको र कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रबन्ध गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की अनुसार कोशी कोभिड उपचार केन्द्रमा १० वटा आईसीयु वेड, २ वटा फिक्ड र ३ वटा पोर्टेवलसहित ५ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको र आईसीयु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन पहिलो दुई साताका लागि कोशी अस्पताल र कोभिड अस्पतालमा कार्यरत जनशक्तिबाट गरिएको छ ।

गत चैत २१ गते देखि सञ्चालनमा ल्याइएको कोरोना उपचार केन्द्रमा वैशाख ५ गतेदेखि कोरोना संक्रमितलाई भर्ना सुरु गरिएको थियो । उपचार केन्द्रमा हालसम्म ३ सय १५ जना भर्ना भएका छन् । भर्ना भएकामध्ये १ सय १८ महिला र १ सय ५६ पुरुष गरी २ सय ७४ जना डिस्चार्ज भएका छन् । संक्रमित एक जनाको मृत्यु भएको छ । उपचार केन्द्रमा हाल १७ महिला र २४ पुरुष गरी ४१ जना उपचाररत रहेको अस्पतालका संयोजक डा. दीपक सिग्देलले बताए ।