हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै

५ भाद्र २०७७, शुक्रबार

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक भेला हुन नपाउँदा र आफन्त भेटघाट हुन नपाउँदा यस वर्षको तीज निक्कै खल्लो महसुस गरिएको छ ।

विशेष गरेर तीजको अघिल्लो दिन दर खाने र भोलिपल्ट ब्रत बसेर महिलाहरुले यो पर्व मनाउने गरेका छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । विवाहित महिलाहरु विशेष गरेर माइतमा गएर तीज पर्व मनाउन रुचाउँछन् । तीजमा दर खुवाउन चेलीबेटी लिनलाई घरसम्म माइतीका आफन्त पुग्ने र साथ लागेर माइत आएका चेलीबेटीले हर्षोल्लासका साथ तीज मनाउने चलन छ ।

अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाउने चलन छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीजलाई बिसर्जना गरिन्छ ।