आइसोलेसन फोडेर स्वास्थ्य सामग्री चोरि

५ भाद्र २०७७, शुक्रबार

संखुवासभा — जिल्ला अस्पतालका अनुसार बिहीबार राति ढोका फोडेर सामग्री चोरिएका हुन् ।संखुवासभा सदरमुकाम खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा रहेको आइसोलेसनका स्वास्थ्य सामग्री चोरी भएका छन् । करिब १५ लाख बराबरको सामग्री चोरी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले बताए । उनका अनुसार ७० थान पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडरलगायत सामग्री चोरिएका छन् ।

अहिले आइसोलेसनमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पताल प्रमुख दीपेश श्रेष्ठले जानकारी दिए । प्रहरीले चोरी र तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।