७४ प्रतिशत कोरोना संक्रमितहरू निको : भारत

५ भाद्र २०७७, शुक्रबार

 भदौ ५ । भारतका कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूमध्ये ७४ प्रतिशतभन्दा बढी सङ्क्रमणमुक्त भएको पाइएको छ । अहिलेसम्म भारतमा कुल २९ लाखभन्दा बढी सङ्क्रमित छन् भने पछिल्लो २४ घण्टामा झण्डै ६७ हजार जना थपिएका हुन् ।

शुक्रबारसम्मको तथ्यांक अनुसार सङ्क्रमितमध्ये २१ लाख ५८ हजार ९४६ जना (अनुपात ७४ प्रतिशत) सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ५४ हजार ८७९ जनाको मृत्यु भएको छ ।

भारत को स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएकाहरुको अनुपात १.८९ रहेका बेला सङ्क्रमणमुक्त भएकाहरूको अनुपात भने ७४.३० रहेको छ ।भारतमा अहिले छ लाख ९२ हजार २६ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म तीन करोड ३४ लाख ६७ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ । रासस