बिपी प्रतिष्ठानमा जुनियर चिकित्सकको आन्दोलन शुरु (मागपत्र सहित)

५ भाद्र २०७७, शुक्रबार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ बिरुद्धको लडाँईमा खटिएका जुनियर रेसिडेन्टहरुको आन्दोलन शुरु भएको छ ।

कोभिड १९ बिरुद्धको लडाईमा महत्वपुर्ण भुमिका खेलिरहेका जुनियर रेसिडेन्टहरुले विभिन्न ९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम शुरु गरेका छन् ।

प्रतिष्ठानमा कार्यरत जुनियर रेसिडेन्टहरुले प्रतिष्ठानले आफुहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशिका विपरित एउटै विभागमा महिना दिन सम्म काममा खटाएको, चिकित्सकहरुलाई स्वास्थ्य मन्त्रालयले तोकेको जोखिम भक्ता उपलब्ध नगराएको भन्दै विभिन्न माग राखी आन्दोलनका कार्यक्रम शुरु गरेका हुन ।

आन्दोलनका कार्यक्रम अन्तर्गत जुनियर रेसिडेन्टहरुले आज पदाधिकारी तथा प्रशासनमा मागपत्र बुझाउने, भदौ ७ गते सम्म माग पुरा नभए हातमा कालोपट्टी बाँधेर काम गर्ने र हातमा कालोपट्टी बाँधेर काम गरेको २४ घण्टा भित्र पनि माग पुरा नभए भदौ ८ गते देखि इमरजेन्सी बाहेक अन्य कुनै विभागमा ड्युटिमा नखटिन घोेषणा गरेका छन् ।


यस्ता छन् उपकुलपतिलाई बुझाएको जुनियर रेसिडेन्टहरुको माग

१) जुनियर रेसिडेन्टहरुलाई ड्युटिमा खटाउने क्रममा महिनामा लगातार १४ दिन र दैनिक १० घण्टा भन्दा बढि खटाउन नमिल्ने स्वास्थ्य मन्त्रालयको निर्देशिका विपरित एउटै विभागको १ महिना सम्मको ड्युटि राखिएकाले, जुनियर रेसिडेन्टहरुलाई वैज्ञानिक तबरले स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुरुप ड्युटिमा खटाउनुपर्ने ।

२) लेभल–३ भनेर चिनिएको यस संस्थामा उच्चतम सेवा प्रवाह तथा Quality केयरका लागि चौबिसै घण्टा १ जना Consultant कोभिड ड्युटिमा Floor मै खटिनुपर्ने । जुनियर रेसिडेन्टलाई अप्ठ्यारो वहाँहरुको साथ आवश्यक देखिएको छ ।

३) फ्रन्टलाईनमा बसेर सेवा गरिरहेका जुनियर रेसिडेन्टहरुलाई RRT मा हुने निर्णयहरु ढिला गरी थाहा हुने र Communication Gap हुने भएकाले JRWS को तर्फबाट एकजना JR, RRT मा समावेश गरिनुपर्ने ।

४) कोभिड ड्युटिमा खटिने चिकित्सकहरुलाई जोखिम भक्ता प्रदान गर्ने स्वास्थ्य मन्त्रालयबाट निर्णय भएको र बजेट समेत आइसकेको अवस्थामा भक्ता प्रदान गर्ने कार्य के कति कारणले रोकिएको हो सो को जानकारी गराईयोस । अन्य स्वास्थ्य संस्थामा जोखिम भक्ता पाएको कुरा सुन्दा JR हरुको मन खल्लो भएको कुरा जानकारी गराउन चाहान्छौ । त्यसैले जोखिम भत्ता जतिसक्दो चाँडो प्रदान गरियोस ।

५) ड्युटिको समय र त्यसपश्चात क्वारेन्टाइनमा बसेको JR हरुलाई खाने बस्ने सुविधामा पुनरावलोकन गरियोस । अहिले उपलब्ध भईरहेको खाना गुणस्तरहीन र खानै नसकिने किसिमको भएकाले १२ घण्टा ड्युटीमा खटेको JR हरुलाई नखाई सुत्नुपर्ने र कोठाबाट मगाएर खानुपर्ने अवस्था छ । यो अवस्थाको अन्त्य गर्न आवश्यक कदम चालियोस ।

६) कोभिड अस्पतालमा JR हरुलाई शव व्यवस्थापनमा लगाईने गरेकाले उक्त काम तत्काल अन्त्य गरियोस ।

७) JR हरु कोभिड पोजेटिभ आएमा छुट्टै भेन्टिलेटर सहित आइसोलेसनमा राख्ने व्यवस्था गरियोस, अन्य विरामी सँगै राखिने कार्य हामीलाई मान्य हुनेछैन ।

८) कोभिड अस्पताल संचालनमा आइसकेकाले इमरजेन्सीमा आइसोलेसन बनाएर कोभिड सस्पेक्टेड केस राख्दा त्यहाँ खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई संक्रमणको जोखिम हुने भएकाले इमरजेन्सीको आइसोलेसन तुरुन्त बन्द गरी सम्पुर्ण सस्पेक्टेड केसहरु कोभिड अस्पतालमै भर्ना हुनुपर्ने र कोभिड अस्पतालको इमरजेन्सीको बेड संख्या बढाउनुपर्ने ।

९) क्वारेन्टाईनमा बसेका JR हरु जो इमरजेन्सीमा एक्सपोज भएका छन तिनिहरुलाई क्वारेन्टाइनमा बसेको अवधिमा पुन ड्युटिमा खटाउन नपाईने ।