मोरङ प्रशासनको चेतावनी निषेधाज्ञाको उल्लंघन नगर्नु

६ भाद्र २०७७, शनिबार

भदौ ६ । जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले भदौ ५ गते राती १२ बजेदेखि भदौ १० गते रातीसम्म स्थानीय प्रशासन ऐन २०२० को दफा ६(३) अनुसार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।                                                                             विराटनगर महानगरको सम्पूर्ण क्षेत्रसहित रंगेली नगरपालिकाको ४, ५ ६ र ७ नम्बर वडा, कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा तथा बुढीगंगा गाउँपालिकाको १, २, ३, ४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको र जिल्ला प्रशासन कार्यालयले विराटनगर महानगरपालिकासहित मोरङका चार स्थानीय तहमा गरिएको निषेधाज्ञा उल्लंघन नगर्न चेतावनी दिएको छ ।

यसअघि प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका ‘लकडाउन’मा सीमित थियो । समुदायमा फैलिएको कोरोना भाइरस संक्रमणको अवस्था भयावह बनेपछि निषेधाज्ञाको निर्णय लिनु परेको जनाउँदै प्रशासनले उल्लंघन नगर्न सुरुमै सबैलाई सचेत गराएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधाज्ञाको अवधिमा

  • अनआवश्यक हिँडडुल नगर्ने ,
  • घरबाट बाहिर निस्कने,
  • बजार र पसल खुल्ला नराख्ने,
  • यातायातका साधन सञ्चालन नगर्ने,
  • भीडभाड गर्न खोज्ने लगायत रोक लगाइएका गतिविधी गरेमा पक्राउ गरेर छ महिनासम्म कैद सजाय गरिने स्पष्ट पारे ।

निषेधाज्ञा पालना गराउन रातिदेखि नै विराटनगर लगायत विभिन्न स्थानीय तहका वडावडामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।निषेधाज्ञा आगामी १० गते राति १२ बजेसम्म कायम रहने छ । महानगरले यसअघि दोस्रो पटक गरेको ‘लकडाउन’ को समय शुक्रबारराति सकिनुअघि सुरक्षा समितिले निषेधाज्ञा आवश्यक रहेको निस्कर्ष निकालेर निर्णय लिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार निषेधाज्ञाको अवधिमा

  • कलकारखाना, उद्योग सञ्चालनमा भने रोक लगाइएको छैन ।
  • निषेधाज्ञामा पसल र बजार खोल्न, हिँडडुल गर्न, सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
  • होटल, रेष्टुुराँ, सैलुन, तथा ई रिक्सा पनि सञ्चालनमा रोक लगाइएको छ ।
  • मोरङ जिल्लाभरी र राजमार्ग क्षेत्रमा प्रत्येक दिन राति ९ बजेबाट बिहान ५ बजेसम्म यातायात चलाउन एवं हिँडडुलमा पूर्ण रुपमा रोक लगाइएको छ ।
  • भन्सारस्थित एकीकृत जाँच चौकीबाट निकासी, पैठारी र नेपाली नागरिकलाई स्वदेश आउन सहज गर्ने गरी रानी नाकाबाट भित्रिने नेपाली बाहेक अन्य आवागमनलाई समेत रोक लगाइएको छ ।
  • फलफूल, तरकारी, खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न मिल्ने छ ।
  • औषधि पसल, अस्पताल खोल्न तथा एम्बुलेन्स लगायतका अति आवश्यकीय सवारी साधन सञ्चालन गर्न पाइने ।
  • सर्वसाधारणले पनि अति आवश्यकीय सामग्री खरिदका लागि नियमको पालना गर्दै जान पाउने  ।

मोरङमा हालसम्म कोरोनाका कारण १३ जनाको मृत्यु भइसक्यो । जिल्लाभर एक हजार दुई सय बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

मोरङमा विराटनगर सबैभन्दा बढी कोरोनाबाट प्रभावित बनेको स्थानीय तह हो । विराटनगरमा शुक्रबारसम्ममा सात सय ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ । जनाले ज्यान गुमाइसकेका छन् । बूढीगंगामा दुई र रंगेलीमा एक जनाको मृत्यु भइसकेको छ ।