कोरोना महामारी र अस्पतालको ज्यानमारा कार्यशैली

७ भाद्र २०७७, आईतवार

कोरोना उपचार र यथार्थ      

मोरङको विराटनगर महानगरपालिका बस्ने २५ वर्षीय पियुष अग्रवालले आफ्नी आमाले अस्पतालको लापरबाही र संवेदनहीनताका कारण कोरोना भाइरसबाट संक्रमित भई उपचारको अभावमा ज्यान गुमाउनु परेको तथ्य सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।

उनका अनुसार मुटुको समस्याबाट पीडित उनकी आमा लगातार १० दिनसम्म अस्वस्थ भएपछि विराटनगरकै सीटी अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरकै नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा पाँच दिन आईसीयूमा रही उपचारपछि घर फर्किएकी थिइन् ।फर्कँदासम्म उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । उनी परिवारसँगै रहेकी थिइन् । केही दिनपछि उनी पुनः अस्वस्थ भइन् ।

समस्या सामान्य नै थियो । कोरोनाका कारण सबैजसो अस्पताल सील गरिएको अवस्थामा निकै भौतारिएपछि बल्ल उनलाई विराटनगरकै न्युरो अस्पतालमा पुर्याइयो ।अस्पतालले उपचारपूर्व कोरोना भाइरसको पीसीआर परिक्षण अनिवार्य रहेको बताएपछि उनको पीसीआर परिक्षण गरियो ।

परिवारको अपेक्षाविपरीत परिक्षणको नतिजा “पोजिटिभ” देखिँदा आफूहरु चकित भएको पियुषको जिकिर छ । कोरोना संक्रमण देखिएपछि उनलाई थप उपचारको लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो

स्वास्थ्य सेवामा लापरबाही – दोषी को?

पियुषका अनुसार अस्पताल पुर्याउनासाथ उनकी आमाले पानी मागिन् । आफूसँग बोतल नभएपछि उनले पानीका लागि अस्पतालकी नर्सलाई आग्रह गरे । तर नर्सले “पानी दिनु हुँदैन” भन्दै अस्वीकार गरिन् । अस्पतालकी नर्सले बिरामीलाई पानी दिन अस्वाभाविक रूपमा इन्कार गरेकोप्रति पियुषले आश्चर्य प्रकट गरेका छन् ।

गुमाउनु पर्यो ज्यान, दोष‌ कसको?

अस्पतालले औपचारिकता पूरा गर्न नै एक घण्टा लगाएका कारण एम्बुलेन्समै आमाको ज्यान गएको बताउँदै उनले आफ्नी आमालाई अस्पतालले मृत्युपछि पनि जिवित रहेको जिकिर गर्दै जबर्जस्ति भर्ना गरेको आरोप लगाएका छन् । आफ्नी आमासँग चौबिसै घण्टा साथमा रहँदासमेत आफू र आफ्नो परिवारका कुनै पनि सदस्य संक्रमित नभएको बताउँदै उनले कोरोना सङ्क्रमित भनी अस्पतालले दिएको रिपोर्ट नै गलत हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

कोरोनाको उपचार कि ब्यापार ?

अग्रवालले कोरोनाको संक्रमण पहिचान र उपचारमा सरकारले देखावटि सेवा दिएर बजेटमा भ्रष्टाचार गर्न उद्यत रहेको आरोप लगाएका छन् । कोरोना रोग नभई “व्यापार” बनेको र आफूहरू सरकारको “लुट प्रणाली” को सिकार भएको टिप्पणी गरेका छन् ।

माथी उल्लेखित सबै जानकारी हामीलाइ पीयूष अग्रवाल ले दिनु भएको हो ।