उपत्यकामा संक्रमितको सम्पर्कमा आएका २० हजार भन्दा बढीकाे कोरोना परीक्षण गरिने

८ भाद्र २०७७, सोमबार

संक्रमितको सम्पर्कमा आएका २० हजार भन्दा बढीकाे कोरोना परीक्षण गरिने

काठमाण्डाैं उपत्यकाभित्र समुदायस्तरमै कोभिड-१९ को संक्रमण फैलिन सक्ने खतरा रहेको भन्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र काेराेना टेस्टिङकाे दायरा पनि फराकिलो बनाउने बताएको छ।

उपत्यका नगरपालिका फोरमका पदाधिकारीको हिजो बसेको बैठकले लकडाउनको अवधिलाई पूर्ण सदुपयोग गरी व्यापक रूपमा कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो।

फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन तथा सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ लगायत सहभागी थिए।

‘पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्दै गई रहेको छ। साथै यही अनुपातमा संक्रमित बढ्दै जाने हो भने समुदायस्तरमै पुग्ने खतरा हुन्छ,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले बताए । ‘संघीय राजधानी समेत रहेको र अत्यन्त घना-वस्तीयुक्त उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा फैलियो भने भयावह अवस्था आउन सक्छ। त्यसैले यसको रोकथाम र नियन्त्रणका लागि उपत्यका सबै पालिकाहरू एकीकृत योजना बनाएर अघि बढ्नुपर्ने देखिएको छ ।’

शाक्यले थप छलफल गरी निर्णयमा पुग्न भोलि पनि उपत्यका नगरपालिका फोरमको बैठक बोलाएको जानकारी पनि दिएका छन्। कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरूलाई सम्पर्क गर्न समेत आह्वान गरेका छन्।

नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले तालिका नै बनाएर कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङमा जाने बताए।

‘उपत्यकाका तीन जिल्लामा मात्रै १५ देखि २० हजारको कन्ट्याक्ट ट्रेसिङ र काेराेनाकाे टेस्टिङ गर्ने हाम्रो योजना छ,’ श्रेष्ठले भने, ‘भोलि नगरपालिका फोरमको बैठकबाट कुन पालिकामा, कहिले, कुन क्षेत्रमा, कति जनाको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गर्ने भन्ने निर्णय गरी तालिका नै बनाएर अघि बढ्छौं।’

उनले उपत्यकाका सबै ‘जोखिमयुक्त स्थानमा’मा कन्ट्याक्ट ट्रेसिङका आधारमा टेस्टिङलाई अभियानकै रूपमा अघि बढाउने जानकारी दिए।

फोरमका पदाधिकारीको बैठक अघि विज्ञहरूसँग पनि उनीहरूले छलफल गरेका थिए।

फोरमको उक्त छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्की, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेलगायत सहभागी थिए।

निषेधाज्ञा जारी गरिएपछि जनजीवनमा भने खाद्यान्न र तरकारी लगायत दैनिक उपभाेग्य समान नपाएर समस्यामा परिरहेकाे छ । सबैतिर पसलहरू बन्द रहेका छन् । काेराेना बाहेकका स्वास्थ्य समस्या लिएर अस्पताल जाने परिस्थिति पनि जटिल बन्दै गएकाे छ। जनजीवन असामान्य बन्दै गइरहेकाे छ तर यसबारे फाेरम माैन छ।