उदाहरणीय फुड बैंक

अभिमन्यु अभिजित

८ भाद्र २०७७, सोमबार
पप्पु शाहको फेसबुक वाल

लत्ता-कपडा, ब्लड आदिको कलेक्शन गरेर सर्वसाधारणलाई सहज बनाएको उदाहरणीय काम हामीले धेरैतिर सुनेका थियौं। मोरङको केराबारी गाउँपालिका कार्यालय आगाडीको यौटा घर छ। उक्त घरमा पसल जस्तै लाग्ने सटर छन् । यौटा पुरानो खाट छ। खाटमाथि दाल, चामल चिनी, चाउचाउ र तेललगायत खाद्यान्नहरू थुपारिएका छन्। झट्ट हेर्दा कसैले पसल फिँजाएजस्तो लाग्ने उक्त दृश्यको वास्तविकता भने अर्कै छ। सटरमा टाँसिएको सूचनामा लेखिएको छ- ‘फुड बैंक। हुनेले दिएर जाऔं, नहुनेले लिएर’ ।

बिहान ९ बजेदेखि १० बजेसम्म सामाग्री लिन र दिन सर्वसाधारणहरूको लाइन लाग्छ। सक्नेहरूले खाद्य सामग्री ल्याएर राखिदिन्छन् भने नसक्नेहरूले चाहिएको सामाग्री लिएर जान्छन्। ज्याला मजदुरी गरेर खानेहरूको काम ठप्प छ। स्थानीय सरकार लगायत अन्य संघसंस्थाहरूले चैत-वैशाख ताका भएको लकडाउनमै राहत बाँढिसके। सरकारले अरबौं खर्च गरेको दाबी गर्यो भने संघसंस्थाका लाखौं बजेट सिद्धिए। अहिले मजदुरहरूलाई न काम गरीखाने ठाउँ छ न कसैले राहत दिन्छ। त्यसैले तरुण दलका गाउँपालिका समितिको अग्रसरतामा स्थापित ‘फूड बैंक’ले केही मात्रमा राहत पुर्याएको छ। आजसम्म तीन सय जनाले यस मार्फत राहत पाएको अध्यक्ष पप्पु शाहले बताएका छन्। सर्वसाधारणको भीडभाडले हुने कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै दूरी कायम गर्न गोलो-घेराबन्दी निर्माण गरी सहज बनाइएको शाहले बताए। टाढा-टाढाबाट पनि सहयोग आउन क्रम बढेको र यस अभियानया सबैले साथ दिएको तरूण दल केराबारीले जनाएको छ।