बेरूतमा विस्फोटपछि विदेशी मजदूरको बिजोग

९ भाद्र २०७७, मंगलवार

लेबनानको राजधानीमा केही हप्ता पहिले भएको विस्फोटका कारण रोजगारी गुमाएका विदेशी कामदारहरूले आफूहरू छिट्टै स्वदेश फिर्ता हुन आग्रह गरेका छन् ।  लेबनानको आर्थिक सङ्कटको सामना गरिरहेका समय कोरोनाभाइरसको महामारी आएको र महामारीसँग जुधिरहेको समय कहालीलाग्दो विस्फोट भएको सम्झँदै आफू स्वदेश फर्किन चाहेको बताउँछिन् इथियोपियाली कामदार तारिक केबेदा ।  आफ्नो बेरूतस्थित निवास विस्फोटका कारण भत्किएकोे उनी बताउँछिन् ।

सानो घर भित्र उनी चारजना साथीहरूसँग साझेदारी गर्थिन् । तर अहिले उनले आफ्नो कोठालाई पत्रिकाले बारेर बस्नु परेको भन्दै पत्रिकाले बारेको झ्यालतर्फ देखाइन् । अगस्ट ४ को विस्फोटले झ्यालका शिसाहरू फुटेपछि उनले यो अवस्थामा बस्नु परेको हो ।

त्यो घरमा बस्ने उनीसहित अन्य साथीहरूले महामारीका कारण पहिले नै आफ्नो जागिर गुमाएका थिए ।  घरेलु कामदार,सुपरमार्केट वा रेस्टुरेन्टहरूमा काम गर्ने तिनीहरूको अब घर पनि जोखिममा छ । “म यहाँ सुत्न डराउँछु,” २२ वर्षीया ती युवतीले भनिन् । भित्तामा गहिरो खाडलहरू देखाउँदै उनले भनिन् अब सामान्य हावाले पनि भवन हामी माथि खस्ने जोखिम रहेको छ ।  महिनौंको डलरको अभाव र त्यसपछि कोरोनाभाइरस महामारीपछि लेबनानमा हजारौं विदेशी कामदारहरू फसेका थिए ।

त्यसपछि बेरूतको बन्दरगाहमा विस्फोटन भयो । जसले १८१ भन्दा बढी व्यक्तिको ज्यान लियो, हजारौं घाइते भए र शहरमा हजारौँ घरमा क्षति पुग्यो ।