निगुरो खोज्न गएका पुरुषको मृत्यु

हाम्राे विराटनगर संवाददाता

९ भाद्र २०७७, मंगलवार

विराटनगर भदौ ९। मोरङको कानपोखरी –७, स्थित कानेपोखरी जंगलमा निगुरो खोज्न हिडेका एकजना पुरुष खोल्सीमा डुबेको अवस्थामा मृत भेटिएका छन् ।

कानेपोखरी –४ का ५५ वर्षीय बाबुराम पराजुलीको सोमबार राते खोलाको दहमा डुबेर मुत्यु भएको अवस्थामा भेटिएको हो । स्थानियहरूले खोल्सीमा डुबेर मृत्यु भएको देखेपछि पथरी प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिपकुमार गिरीले बताए ।

स्थानीयका अनुसार घटना शंकास्पद पनि हुन सक्ने भएकाले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा स्थानीय बासिन्दाले शव बाहिर निकालिसकेका थिए ।

मृततको टाउको पट्टीको भाग डुबेको र खुट्टा पानीभन्दा बाहिरै रहेको अवस्थामा शव भेटिएको जानकारी प्रहरीलाई दिएका थिए । स्थानीयका अनुसार मृत्यु डुबेरै भएको हो भन्न सकिने अवस्था नरहेको बताएका छन्। प्रहरीले शवलाई पोस्टमार्टमका लागि सोमबार नै मंगलबारे अस्पताल पठाएको छ ।