उच्च अदालतकाे काेराेना बिषयक अन्तरिम आदेश

९ भाद्र २०७७, मंगलवार
फाइल तस्वीर

विराटनगर । भदाै ९

उच्च अदालत विराटनगरले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक योजना तर्जुमा र कार्यान्वयनका लागि प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। बढ्दो संक्रमणका कारण अवस्था झन् जटिल बन्दै गएको भन्दै उच्च अदालतले यस्तो आदेश जारी गरेको हो।

सोमबार भएको छलफल र राती ७ बजेसम्म भएको सुनुवाई पछि अन्तरिम आदेश जारी गर्दै उच्च अदालतले कोभिड अस्पतालको सेवालाई प्रभावकारी बनाउन आवश्यक व्यवस्थापन मिलाउन पनि आदेश दिएको छ ।

विराटनगर ३ का सीताराम दाहालको साउन २८ गते आवश्यक उपचार नपाएकै कारण मृत्यु भएपछि उहाँकी छोरी निलिमा दाहालले प्रदेश सरकार, विराटनगर महानगरपालिका लगायत विभिन्न आठ सरोकारवाला निकायलाई विपक्षी बनाई रिट निवेदन दायर गरेकी थिइन्  । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले प्रदेश सरकारसहित विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

रिटमा पिसिआर परिक्षणको रिपोर्ट आउन ढिला भएको, संक्रमितले आवश्यक उपचार नपाएको,भएका अस्पतालमा पनि अन्य प्रकृतिका बिरामीहरूलाई पनि असहज स्थिति उत्पन्न भएको उल्लेख गरिएको छ भने आवश्यक व्यवस्थापनको माग गरिएको छ ।

संक्रमणका कारण कसैको मृत्यु भएमा दाहसंस्कारमा सुरक्षा सतर्कता अपनाई आफन्तलाई सहभागि गराउन पनि अदालतले आदेश जारी गरेको छ ।