प्रहरी गण नै कोरोनाको चपेटामा, ८७ जना संक्रमित

९ भाद्र २०७७, मंगलवार

नेपाल प्रहरीका सशस्त्र प्रहरी गण रानी विराटनगरका ८७ जना प्रहरीहरूमा कोरोनाको संक्रमण देखिएको छ। प्रदेश १ मा मात्रै २ सय ११ जना प्रहरी संक्रमित छन् भने रानी कार्यालयमा मात्रै ८७ जनाको ठूलो समूह छ।

कूल संक्रमितमध्ये ४६ जनाले कोरोना जितिसकेका छन्। उपचाररत संक्रमितहरूको संख्या १ सय ६६ रहेको छ।
त्यस्तै प्रदेश प्रहरी कार्यालयमा ४०, तालिम केन्द्र १२, मोरङ र सुनसरीमा १३/१३ जना संक्रमित छन्। झापामा पनि १२ जना संक्रमित छन्।

दुहवीको दङ्गा नियन्त्रण प्रहरीमा १२, खोटाङमा ६ र ओखलढुंगा, भोजपुर र इलाममा तीन-तीन जना छन्। उदयपुर, पाँचथर र सङ्खुवासभामा पनि एक – एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

साउन २१ गते एकजानालाई संक्रमण देखिएको रानी विराटनगरमा लापरबाहीका कारण अन्यमा पनि फैलिएको जनाइएको छ।

एकजनालाई संक्रमण देखिएपछि क्वारेन्टीनमा राखेर उपचार गरिनुपर्नेमा गणका कर्मचारीहरुको सरुवा गरिएको र सुरक्षाबारे बेवास्ता गरेको जनाइएको छ।
संक्रमण देखिएपछि पनि अन्यत्र जिल्लातिर सरुवा गर्नु घातक रहेको एक कर्मचारीले बताए। सबैको बसोवास र कार्य क्षेत्र एउटै जस्तो हुनाले थप त्रास बढेको छ।

जनसम्पर्कमा काम गर्नुपर्ने प्रहरीबल नै संक्रमणको उच्च जोखिममा रहेसँगै कोरोनाको आगामी भयावह स्थितिबारे आँकलन गर्न थालिएको छ। सरुवा सामान्य प्रक्रिया हुनाले क्वारेन्टीनमा राखेर मात्र कार्यक्षेत्रमा खटाइने प्रहरी प्रदेश प्रमुख डिआइजी ईश्वर बाबु कार्कीको भनाइ छ।