त्रिवि भन्छ स्थगित परीक्षा असोजभित्रै लिन्छै

१० भाद्र २०७७, बुधबार

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ ।

विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिए ।

खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका विद्यार्थीको हकमा निकास निकाल्ने निर्णय विश्वविद्यालयका पदाधिकारी तथा डिनहरूको बैठकले गरेको छ । व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले दुई विषयको परीक्षा दिएका थिए भने दुई विषय बाँकी थियो ।

यो अवस्थामा विद्यार्थीको परीक्षा रोकिँदा शैक्षिक सत्र बिग्रनुका साथै माथिल्लो अध्ययनमा समेत अवरोध हुने भएपछि बाटो खोल्ने तयारी भएको हो । धेरै विद्यार्थीले आफ्नो भविष्य डामाडोल भएको र थप करियर बन्द भएको गुनासो गरेपछि विकल्प खोल्ने दबाब विश्वविद्यालयका पदाधकिारीलाई परेको थियो ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले पहिलेको जस्तो अवस्था अहिले नरहेको स्पष्ट गर्दै कुनै फरक विधिबाट परीक्षा लिई विद्यार्थीको नतिजा प्रकाशित गरिने बताए ।

यसैबीच त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा सेमेस्टर प्रणालीमा सञ्चालित परीक्षा सञ्चालन हुन नसके पनि विद्यार्थीलाई माथिल्लो सेमेस्टरमा पढाउन थालिएको छ