प्रतिष्ठानले हेलचेक्र्याइ गरेको भन्दै बि पि का नर्सहरू आन्दोलित

मनोज पोख्रेल

१० भाद्र २०७७, बुधबार
तस्विर :कृति टेलिभिजन

वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरू आन्दोलित भएका छन्। कोरोना संक्रमितको संम्पर्कमा आएका नर्सहरूलाई क्वारेन्टाइनको व्यवस्था, परिवारका सदस्यहरूको पिसिआर परिक्षण गर्नुपर्ने आदि माग राखेर मङ्गलबार प्रतिष्ठानका चारै पदाधिकारी तथा मेट्रो सहितको ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाएका छन् ।

कोरोना संक्रमणको बेलामा फस्ट लाइनमा रहेर काम गरिरहेका नर्सहरूको सुरक्षा व्यवस्थापनमा प्रतिष्ठानले चासो नदेखाएको भन्दै नर्सहरू आन्दोलित भएका हुन् । प्रतिष्ठानमा संक्रमितको र मृत्यु हुनेको संख्या बढिरहेको अवस्थामा पनि प्रतिष्ठानले नर्सहरूको सुरक्षामा प्रत्यक्ष रूपमा केही पनि योजना नल्याएको गुनासो नर्सहरूको छ ।

उनीहरूको माग सम्बोधन नभए ड्युटिमा उपस्थिति नजनाउने चेतावनी समेत दिएका छन्। जोखिम भत्ता समेत नपाएको भन्दै सरकारले वृद्धि गरेको २०% जोखिम भत्ताको पनि माग गरेका छन्।नर्सहरूको आन्दोलनमा हेल्पर र हेर्न एडहरूले पनि समर्थन जनाएका छन् ।

डिउटीमा पूर्ण पिपिई दिएर मात्र खटाउनुपर्ने, कोरोना बिमाको व्यवस्था गर्नुपर्ने, कोरोना शङ्कास्पद बिरामीहरूको पिसिआर रिपोर्ट चाँडो ल्याउने व्यवस्था गर्नुपर्ने लगायत मागहरू लिएर आन्दोलित नर्सहरूको माग पुरा नभए कालो पट्टि बाँधेर काम गर्ने र ११ गतेसम्म पनि माग पुरा नभए ड्युटिमा उपस्थिति नहुने उनीहरूको भनाई छ ।