अपराधीलाई गृहमन्त्रालयको सुरक्षा , न्यायका लागि विरोध गर्नेहरूलाई कारबाहीको सिफारिस

११ भाद्र २०७७, बिहीबार

अपराधीलाई गृहमन्त्रालयको सुरक्षा न्यायका लागि विरोध गर्नेहरूलाई कारबाहीको सिफारिस

विराटनगर भदौ ११

रौतहटमा हालै भएको पुजारी हत्यामा संलग्नहरुलाई कारवाही गर्नुपर्ने माग गर्दै हिन्दुवादी समूहरुले गर्दै आएको प्रदर्शन रोक्न गृहमन्त्रालयले आदेश दिएको छ।

बुधबार एक आदेश जारी गरी पुजारीको हत्यामा सलग्नहरुलाई खोजेर कारबाही गर्न आदेश दिनुको सट्टा पुजारी हत्याको विरोध गर्नेहरुलाई नै नियन्त्रण गर्न प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिएको हो।

गत ३ भदौमा नारायण नगरपालिकाको हनुमान मन्दिरका पुजारी श्रीराम शाहको मन्दिर परिसरमै हत्या भएको थियो। तर एकसाता बितिसक्दा पनि पनि पुजारीको हत्यामा संलग्नहरू पक्राउ परेका छैनन्।

उक्त हत्यामा संलग्नहरुलाई पक्राउ गर्नुपर्ने माग राख्दै विभिन्न हिन्दुवादी समूहहरुले देशभर नै प्रदर्शन गर्न थालेका छन्। साथै केही जिल्लामा घटनाका सम्बन्धमै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाइएको छ।

मन्त्रालयले हत्यारा पक्राउ गर्नका लागि प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिनुको साटो घटनामा संलग्नहरुलाई पक्राउ गरेर कडा कानूनी कारवाही गर्नुपर्ने माग राख्दै हुँदै आएको प्रदर्शनलाई तत्काल रोक्न ७ भदौमा मातहतका निकायलाई निर्देशन जारी गरेको हो।

हत्याको विरोधमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनदेखि उनको आत्माको शान्तिको कामना गर्दे गरिएका दीप प्रज्जवलनलगायतका कार्यक्रमलाई पनि रोक्न आदेश दिइएको छ। यसबाट सरकारले अपराधीलाई नै प्रश्रय दिइरहेको छ कि भन्ने शंका बढाएको छ।

हिन्दु धर्म गुरुहरुको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने, नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने र धर्म निरपेक्षता खारेज गर्नुपर्ने लगायतका माग राख्दै भइरहेका प्रदर्शन एवं ज्ञापनपत्र दिनेलगायतका घटनालाई अवाञ्चित गतिविधिको संज्ञा दिँदै गृहमन्त्रालयले त्यसलाई रोक्न पनि मन्त्रालयले भनेको छ।

‘हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई मन्दिर परिसरमै अपरिचित समूहले गोली प्रहार गरी हत्या गरेको घटना सन्दर्भलाई लिएर विभिन्न हिन्दुवादी समूहहरुले घटनामा संलग्न व्यक्तिहरुलाई अविलम्ब पत्ता लगाई कडा कानुनी कारावही गरिनुपर्ने माग आएको, यसै क्रममा भदौ ४ गते साँझ दाङ जिल्लाको घोराही उपमनपा १५ स्थित तुलसीपुर चोकमा स्वतन्त्र युवा समूहको नामबाट हिन्दु धर्ममाथि चौतर्फी आक्रमण भइरहेको, रौतहटमा पुजारी हत्या नियोजित रुपमा भएको भन्दै विरोध प्रदर्शन गर्नुका साथै मृतक पुजारीको आत्माको शान्तिको कामना गर्दौ दीप प्रज्जवलन समेत गरेको, आदि उल्लेख गर्दै भदौ ५ गते दिउँसो सुनसरी जिल्ला प्रशासन कार्यालयमा बृहत सनातन महासंघका केन्द्रीय संयोजक श्री निवाशाचार्य समेत १५/२० जनाको समूहले हिन्दु धर्म गुरुहरुको सुरक्षाका ग्यारेन्टी गरिनुपर्ने, रौतहतमा पुजारीको हत्या घटनामा संलग्नहरु मथि कडा कारवाही गरिनुपर्ने, नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने, धर्म निपरपेक्षता खारेज गरिनुपर्ने समेतका माग राखी ज्ञापनपत्र प्रस्तुत गरेको भन्ने सूचना प्राप्त भएकोले सो सम्बन्धमा उक्त घटनाको विषयलाई लिएर ताहा जिल्लाहरुमा हुन सक्ने अवाञ्छित गतिविधिहरु हुन/गर्न नदिन सम्बन्धित निकायसँग समन्वय गरी कानुन विपरीतका कार्य भए/गरेको पाइएमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने व्यवस्था हुन आदेशानुसार अनुरोध छ’ मन्त्रालयद्धारा प्रहरी प्रधानकार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई जारी गरेको आदेशमा भनिएको छ।
दण्डहीनता मौलाइरहेको अवस्थामा शान्तिपूर्ण प्रदर्शनका कार्यक्रममाथि सरकारले लगाएको यो निषेधाज्ञाले देशको न्यायप्रणाली कहाँ पुगादैछ भन्ने खालको संशय पैदा भएको छ।