महामारीमा सरकारको मुख ताकिरहने?

११ भाद्र २०७७, बिहीबार

सरकारको लिबरल सोसाइटी तरहराद्वारा सांकेतिक विरोध

सरकारको मुख नताकिकन विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरू अघिसारेर स्थानीयवासीको मन जितेको लिवरल सोसाइटी तरहरा नयाँ रूपमा प्रस्तुत भएको छ ।

”सरकारको भर नपरौं, आफैं सचेत बनौं” भन्ने व्याङ्ग्यात्मक नारा अघि सारेर क्लबले कोभिड १९ (कोरोना) भाईरसको संक्रमण रोक्नका लागि तरहरामा सेनिटाइजेशन अभियान शुरु गरेको हो ।

पिपिई लगाएका क्लबका सातजना तालिम प्राप्त कमाण्डहरुले तरहरा क्षेत्रका विभिन्न स्थानहरुमा क्लोरिन हाइपोक्लोराइट घोलेर छर्केका छन्। यसअघि क्लबले तरहरा क्षेत्रमा प्रत्येक शनिबार सरसफाई अभियान चलाईरहेको थियो । स्थानीयको सेवामा निस्किएको क्लब तरहरा आसपासका क्षेत्रमा अहिले सबैको प्रशंसाको पात्र बनेको छ ।

संक्रमणको जोखिम हुने सक्ने सार्वजनिक स्थानहरु; तरहरा प्रहरी चौकी, हाँसपोसा सामुदायिक वन उपभोक्ता समूहका कार्यालय, तरहराको पेट्रोल पम्प (हम्स), वित्तीय संस्था तथा बैंकका एटीएम, क्लिनिक तथा औषधी पसल र केही संक्रमितहरुका घर आँगन र टोलमा सेनिटाइजेशन अभियान चलाएको क्लबका अध्यक्ष सुबेक्छु देवान राईले जानकारी दिए । उनले भने ‘यो सरकारको जिम्मेवारीबाट भाग्न खोज्ने प्रवृत्तिको लिबरल सोसाइटी तरहराको सांकेतिक विरोध हो ।’

कोभिड १९ (कोरोना) महामारीले बिश्व नै भयावह भएको समयमा नेपाली जनताले आफ्नो सरकार भएको अनुभूति गर्न पाएको छैनन् भन्दै क्लबले यो शैलीमा विरोध जनाएको हो ।
सरकारको अकर्मण्यताको व्यङ्ग्यात्मक शैलीमा विरोध जनाउदै क्लब यो महामारीको समयमा मानव सेवामा निस्किएको हो ।

स्थानीय निकाय तथा सरकार आफ्नो जिम्मेवारीबाट पन्छिरहेको बेला क्लबले गरेको यो काम सराहनीय भएको भन्दै स्थानीयले स्याबासी दिएका छन् ।