ठूलाे परिमाणमा गाँजा बरामद

११ भाद्र २०७७, बिहीबार
फाइल तस्वीर

विराटनगर। भदौ १०
उदयपुर जिल्लाको पहाडी क्षेत्रमा विभिन्न स्थानबाट संकलन गरी भारत निकासी गर्न लागिएको ८४ केजी गाँजा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ ।

प्रहरीको टोलीले ताप्ली गाउँपालिका -७ का सन्त बहादुर तामाङको बाख्राको खोरमा लुकाई छिपाई राखेको चार बोरा (८४ केजी) अवैध गाँजा बुधबार बरामद गरेको हो ।

गाँजासँगै प्रहरीले एक थान खुकुरीसहित कारोबारमा संलग्न ताप्ली-१ का २९ वर्षीय पुष्प बहादुर मगर र ताप्ली-३ का ४३ वर्षीय राम बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ।

प्रहरी उपरीक्षक भीम दाहालका अनुसार बिहीबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा गाँजा कारोबारीमा संलग्न दुवैजनालाई बरामद गरिएको गाँजासहित सार्वजनिक गरिएको हो । कारोबारीमा अन्य व्यक्तिहरुको समेत संलग्नता हुनेसक्ने भन्दै अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

उदयपुरको ताप्ली गाउँपालिकाका विभिन्न वडामा बर्षौंदेखि अवैध रुपमा गाँजा खेति हुँदै आएको छ । प्रहरीले बिरुवा हुर्कने बेलामै गाँजाको बोट नष्ट नगर्दा जतिसुकै प्रयासगर्दा पनि त्यस क्षेत्रमा गाँजा खेति राेकिन सकेको छैन । ताप्ली गाउँपालिकाको चिसापानी, शिखरपुर, रूपाटार, इनामे, ठानागाउँ र मादले लगायत क्षेत्रमा व्यवसायिक रूपमा गाँजा खेती हुने गरेको छ।