इ-कमर्शमा कर्मचारीहरू पक्राउ

११ भाद्र २०७७, बिहीबार
फाइल तस्वीर

उपत्यकामा निषेधाज्ञा जारी भएको आठौ दिन इ-कमर्शमा कर्मचारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ विभिन्न क्षेत्रबाट आधा दर्जन इकमर्शका सञ्चालक तथा कर्मचारीहरूलाई पक्राउ गरेको पाइएको छ । यूजी बजारका सह-संस्थापिका निकिता आचार्यलाई तिनकुने, डल्लेका आलाक योञ्जनलाई दरवारमार्ग र भोजडिलका निकेटलाई मालिगाँउबाट पक्राउ गरिएको छ ।

“हामीले डिजिटल पेमेन्ट लाई फोकस गरेर खाद्यन्न डेलिभरी गर्न खोज्दा पनि प्रहरीले नियन्त्रणमा लिए , हामी जस्तो स्टार्टअपहरूलाई कुनै जानकारीविनै भ्यानमा हालेर लादा दुःख लागेको छ, कम्तिमा स्पष्टसँग जानकारी गराइएको भए पनि हामी सेवा बन्द गर्न तयार थियौँ ।”- पक्राउ परेकाहरूको भनाइ छ।

यसै गरी फुडमारियो टीम र किराना टीमलाई पनि विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरको छ । फुडमाण्डूका मनोहर अधिकारी, नेपएक्सप्रेसका संगम सिंह लगायत अन्य केही कारबाहीमा परेका छन् । उनीहरु धेरैलाई ‘होल्डिंग जोन’ मा राखिएको छ भने केहीलाई पक्राउ गरेर भ्यानमा लगेको जानकारी प्राप्त भएको छ ।
खाद्यान्य, तरकारी र खाना डेलिभर गर्ने इकमर्श कम्पनीहरूका प्रतिनिधिहरुलाई प्रहरीले विना सूचना पक्राउ गरेकोमा सामाजिक सञ्जालहरूमा विरोध सुरु भएको छ ।

बिहान ९.१५ बजे पछिको समयमा डेलिभरी गर्न नपाइने भन्दै प्रहरीले सोझै पक्राउ गरेको बताइएको छ । पछिल्लो समय इकमर्श व्यवसायमा संलग्न हुने स्टार्टअप कम्पनीहरु बढिरहेका थिए । सुरुमा प्रशाशनले अत्यावश्यक सामानको ढुवानी गर्न दिने भनेको थियो। प्रहरीको कारबाहीमा पर्न थालेपछि यो क्षेत्रका धेरै व्यवसायीहरू आतङ्कित भएका छन् । प्रशासनबाट ‘टेक अवे र होम डेलिभरी’ सेवा पनि बन्द गर्न निर्देशन आएको प्रहरीले जनाएको छ।