भारतकाे दैनिक साइबर अाक्रमण

१२ भाद्र २०७७, शुक्रबार
तस्वीर- साभार

निर्मला पन्त लगायतलालाई न्यायको माग गर्ने महिला जागरूकता तथा विकास केन्द्र (सीडब्ल्यूएडी) को नेपाली वेबसाइट पनि  ह्याक

भारतीय विस्तारवाद नेपालले राजनीतिक, धार्मिक, सांस्कृतिक, आर्थिक र प्राविधिक रूपमा सामना गरिरहेको छ। सीमा मिचिएका कुरा, संविधानप्रतिको असन्तुष्टिका कुरा एवं भन्सारमा हुने भारतीयहरूको दादागिरीको कुरामा हामी बानी नै परिसक्यौं। तर वेब ह्याकरहरूले अहिले नेपालमा प्राविधिक हमला गरिरहेका छन्।

बिहीबार भारतीय ह्याकरहरूले निर्मला पन्तलाई न्यायको माग गर्दै महिलाको जागरूकता र विकास केन्द्र (सीडब्ल्यूएडी) को नेपाली वेबसाइट फेरि ह्याक गरे । ती साइबर ह्याकरहरूले नेपाली वेबसाइटहरू ह्याक गरेको यो पहिलो घटना भने होइन ।

कञ्चनपुर जिल्लाकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुई वर्ष बितिसकेको छ। महिला अधिकारकर्मी, बाल-अधिकारकर्मी तथा मानव अधिकार आयोगले पनि न्यायका लागि सरकारलाई घच्घच्याइरहेको छ।

विरोधका शैली पनि समयानुकूल रचनात्मक बनाउँदै लैजानुपर्छ। माइतीघर मण्डलामा कराएर मात्र विरोध हुने जमाना फेरिएको छ। रचनात्मक तरिकाले दबाव दिन सके त्यो विरोधले मूर्त रूप लिन सक्छ।

निर्मला पन्तका निम्ति न्याय भनेर अनेकौं प्रदर्शनहरू पनि भए। कतिले सोही क्रममा ज्यान पनि गुमाए। विरोधको क्रम जारी नै छ तर सरकार कानमा तेल हालेर आँखामा पट्टी बाँधिरहेको छ।

नेपालका बैंकिङ क्षेत्र ह्याकरको निशानामा परेका घटना पनि छँदैछन्। सरकारी वेबसाइट पनि ह्याकरको आक्रमणमा परिसकेका छन्। हामीले विद्युतीय विश्व नियालिरहेका बेला साइबर सम्बन्धी क्षेत्रमा कति परिपक्व बनेका छौं भन्ने उदाहरण पनि हो।

साइबर ह्याकिङबाट महत्वपूर्ण सूचनाहरूको चुहावट हुनसक्ने कुरामा सरकार कत्ति गम्भीर देखिँदैन। भारतीय साइबर ह्याकरहरूका बारेमा भारतसँग कूटनीतिक पहल नगरेमा हामी साइबर संसारमा कति सुरक्षित छौं भन्न गाह्रो पर्छ।

Harry-1337 नाम गरेको ह्याकरले ह्याक गरिदिएको महिला जागरूकता तथा विकास केन्द्रको वेबसाइट प्रतिनिधि घटना मात्र हो। यस्ता दैनिक रूपमा सयौं वेबसाइट निशानामा पर्दै गएकोमा साइबर क्षेत्रमा सुरक्षाका मापदण्ड वृद्धि गर्दै ह्याकरहरूको पहिचान तथा कारबाही गर्नुपर्दछ।