नीजि विमान राख्न पाउने प्रावधानको मस्यौदामा छलफल

१२ भाद्र २०७७, शुक्रबार

 

नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गर्न सकिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को मस्यौदामा नीजि जहाज खरीद गर्न पाउने प्रावधान समेटिएको छ ।

सरोकारवालाको राय लिएर पास गर्ने प्रक्रियामा रहेको मस्यौदामा अब निजी तथा तालिम प्रयोजनका लागि एक इन्जिन भएको वायुयानको आयात र सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ । यसका लागि वायुयान उत्पादन गर्ने संस्थाले तोकेको मापदण्ड, इन्जिन परफरमेन्स, नियामक निकायले जारी गरेका शर्त पूरा गर्नुपर्छ ।

यसअघि १५ वर्ष पुराना जहाज आयात गर्न सकिने प्रावधान रहेपनि यो पटक देखि भने नपाइने भएको छ । मन्त्रालयको मस्यौदामा उल्लेख भए अनुसार १२ वर्षसम्म पुराना, इकोनोमिक डिजाइन लाइफको ५० प्रतिशत पूरा भएको वा ३५ हजार प्रेसराइजेशन साइकल पूरा गरेकोमध्ये जुनसुकै अवस्थाको जहाज पनि खरीद गरी ल्याउन सकिनेछ ।

नीजि प्रयोजनका लागि खरीद भएका विमान व्यवसायिक प्रयोग गर्न भने पाइने छैन तर हवाई उडान सुरक्षा प्रावधान भने समान नै लागु रहनेछ ।