बढ्दो बैंकिङ आकर्षण

मनोज पोख्रेल

१२ भाद्र २०७७, शुक्रबार
कान्तिपुर डटकम

०७६ असारमा बैंक तथा वित्तीय संस्थामा कुल २ करोड ७८ लाख ६६ हजार बैंक खाता खुलेकामा ०७७ असारसम्म बढेर सवा तीन करोड पुगेको छ ।

नेपालमा गत असारसम्म बैंक तथा वित्तीय संस्थामा ३ करोड २४ लाख ५४ हजार वटा निक्षेप खाता खुलेका छन् । यो नेपालको कुल जनसंख्याभन्दा २४ लाख बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार बिहीबारसम्म नेपालको कुल जनसंख्या ३ करोड ६५ हजार छ ।

गत आर्थिक वर्षमा मात्र बैंक तथा वित्तीय संस्थामा ४५ लाख ८७ हजार थप निक्षेप खाता खुलेका छन् । ०७६ असारमा बैंक तथा वित्तीय संस्थामा कुल २ करोड ७८ लाख ६६ हजार बैंक खाता खुलेकामा ०७७ असारसम्म बढेर सवा तीन करोड पुगेको छ । यो वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा मात्र खुलेको खाता संख्या हो ।यसमा लघुवित्त आदि वित्तीय संस्थामा खुलेका खाता पनि समावेश गर्ने हो भने यो संख्या अझ धेरै हुने बताइएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल भन्छन् ‘वित्तीय पहुँचको विस्तार राम्रो छ, प्रायः सबै कार्यालयमा बैंकमार्फत तलब भुक्तानी दिन थालिएको छ, डिजिटल बैंकिङ कारोबार बढ्दो छ ।’ सबै नेपालीको बैंक खाता नामक अभियानले पनि बैंक खाता खोल्नेमा वृद्धि भएको उनले बताए ।