आफूलाई अशक्त भन्दै राजिनामाको तयारीमा जापानी प्रधानमन्त्री

१२ भाद्र २०७७, शुक्रबार

लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगसँग लडिरहेका जापानी प्रधानमन्त्री सिन्जो आवेले राजिनामा दिने भएका छन् ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले सरकारको नेतृत्व गर्न आफू असमर्थ रहेका भन्दै प्रधानमन्त्री आवेले पदावधि एक वर्ष बाँकी छँदै राजिनामा गर्न लागेको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ । प्रधानमन्त्रीका रूपमा सबभन्दा बढी समय काम गर्ने पहिलो व्यक्ति आवेले सन् २००७ मा प्रधानमन्त्री नियुक्त भएको एक वर्षपछि स्वास्थ्य बिग्रिएको भन्दै पद त्याग गरेका थिए । ६५ वर्षीय आवे स्वास्थ्य समस्याकै कारण हाल कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नभएको बताइएको छ । प्रधानमन्त्री आवे हालसालै दुई पटक अस्पताल भर्ना भएको स्रोतको दाबी छ ।