गृह-रक्षा-स्वास्थ्यमन्त्री सहित प्रधानसेनापति होम आइसोलेसनमा

१२ भाद्र २०७७, शुक्रबार
तस्बिर : सीसीएमसी

कोरोना संक्रमितको सम्पर्कमा रहेको कारण उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापति पूर्णचन्द्र थापा होम आइसोलेसनमा बसेका छन् ।

छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा भएको बैठकमा सहभागी एक कर्मचारीमा संक्रमण भएका उनीहरु होम आइसोलेसनमा बसेका हुन् । यस्तै सचिव महेन्द्र गुरागाई पनि होम आइसोलेसनमा छन् ।

मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको र नतिजा आउन बाँकी रहेकाले परीक्षणको नतिजा नआएसम्म उनीहरु होम आइसोलेसनमा बस्ने सीसीएमसी स्रोतले बतायो ।

सीसीएमसी सचिवालयका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईका अनुसार एकजना सैनिक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । कपाल काट्न जाँदा संक्रमण भएको हुनसक्ने उनले जानकारी दिए। सीसीएमसी सचिवालय भने सिल गरिएको छैन ।

सत्तारुढ दल नेकपाका सचिवालय सदस्य समेत रहेका मन्त्री पोखरेल र थापा आइसोलेसनमा बसेसँगै नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित भएको छ ।