आफ्नै भाइहरू प्रयोग गरी बालिकामाथि बलात्कार

१२ भाद्र २०७७, शुक्रबार
सांकेतिक तस्वीर

विराटनगर। भदौ १२

बेलबारी नगरपालिका–११ की एक १६ वर्षीया दलित किशोरीलाई बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। गाउँकै होम तामाङ नामका व्यक्तिबाट अनौठो तरिकाले बलात्कार भएको प्रहरीले जनाएको छ। छिमेककै ११, १२ र १३ वर्षका भाइहरू लिएर जंगलमा निगुरो टिप्न गएकी किशोरीमाथि बलात्कार भएको हो।

मंगलबार दिउँसो ३ बजेतिर लक्ष्मीमार्गको जंगलमा निगुरो टिप्दै गरेको ठाउँमा पुगेका चिनजानकै ४० वर्षीय होम तामाङले किशोरी र बालकहरु चारै जनालाई नियन्त्रणमा लिएर घटना गराएको पत्ता लागेको छ।

बालकहरूलाई मैले भनेको नमाने सबैलाई मारिदिने धम्की दिँदै पालैपालो किशोरीमाथि बलात्कार गर्न लगाए। तामाङ आफैँले पनि बलात्कार गरेको खुलेको छ। तीनै जना बालकहरू दलित समुदायकै हुन्।

बालकहरूलाई मारिदिने धम्कीद्वारा बाध्य बनाएर जबर्जस्ती करणी गर्न लगाएको र भिडियो समेत खिचेको जानकारीमा आएको छ। बेलबारी प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार भोलीपल्ट बालबालिकाका घरै गई तामाङले कसैलाई नभन्न दबाब पनि दिएको पाइएको छ।

बाबु कतारमा रलेका र ससाना दुई भाइसहित आमासित बस्ने ती किशोर स्थानीय विद्यालयमा कक्षा छमा पढ्छिन्। आर्थिक स्थिति कमजोर रहेका उनीहरूको आम्दानीको स्रोत नै निगुरो टिप्ने र बेच्ने थियो।

निगुरो पनि नलिई आएका र भोलीपल्ट विक्षिप्त देखिएका ती बालबालिकालाई परिवारका सदस्यहरूले केरकार गर्दा घटना थाहा हुन आएको एकजना आफन्तले जानकारी दिए।

ससाना बालकहरूलाई प्रयोग गरेर जबर्जस्ती करणी गरिएको यो खालको घटना अनौठो र अमानवीय भएको भन्दै पीडकलाई हदैसम्मको कारबाही गर्न स्थानीयहरूले माग गरेका छन्।