नोबेल अस्पतालका सबै सेवा सुचारु राजिनामा दिने नर्सहरुसमेत काम गर्न राजी

१३ भाद्र २०७७, शनिबार
तस्विर : फाइल

लामो समयदेखि बन्द रहेको मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आकस्मिक तथा बहिरङ्ग (ओपिडी) सेवा पुनः सुरु भएको छ ।

देशमा कोरोना संक्रमण भित्रिएपछि नेपाल सरकारले देशव्यापी लकडाउन गरेको थियो । संक्रमण बढ्दै गएपछि सरकारले नोबेल अस्पतालमा पनि कोरोना सङ्क्रमितको उपचार गर्न अनुमति दिएको थियो ।

संक्रमितको सम्पर्कमा आउने अन्य बिरामीमा पनि भाइरस सर्नसक्ने भन्दै अस्पताल प्रशासनले आकस्मिक तथा बहिरङ्ग सेवा बन्द गरेको थियो । अस्पतालका निर्देशक डा. राजेश नेपालले सेवा पुन: सुरु हुँदा बिरामीलाई उपचार पाउन सहज भएको बताए ।

यस्तै, तलब भत्ता नपाएको भन्दै सामूहिक राजिनामा दिएका २५ जना नर्सहरुसमेत काममा फर्किएका छन् । अस्पतालले संवादमार्फत् असन्तुष्टि सम्बोधन गर्ने जनाएपछि सहमतिमा काम सुरु गरेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।