सरकारी अस्पतालको सुस्त चाल, निजी अस्पताल मालामाल

१३ भाद्र २०७७, शनिबार

निजी अस्पतालमा कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन जडानको काम सुरु भएसँगै प्रदेशका सरकारी अस्पतालमा जडित मेसिन बिग्रन थालेका छन् ।

पीसीआर मेसिनले काम गर्न छोडेपछि परीक्षणको दरमा गिरावट आएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरी गत साउन ३० गते एकैदिन दुई हजार दुई सय पाँच जनाको स्वाब परीक्षण भएकोमा हिजो शनिबार परीक्षणको दर घटेर एक हजार दुई सय बीस जनाको मात्र स्वाब परीक्षण भएको छ, जसमध्ये एक सय १२ जना संक्रमित देखिएका छन् । सरकारले अनुदान सहयोग लिएर निरन्तर परीक्षणको क्षमता अभिवृद्धि गरिरहेको भएपनि परीक्षणको दर भने अस्वभाविक रुपमा घटिरहेको छ । प्रदेशभर सरकारी स्वामित्वका चार ल्याब सञ्चालनमा रहेकामा अहिले निजी क्षेत्रका नोबेल र न्युरो अस्पतालमा मेसिन जडान भएसँगै सरकारी अस्पतालका मेसिन बिग्रन थालेका छन् । न्युरो अस्पताल र विराट मेडिकल कलेजले मेसिन जडान गरी परीक्षण प्याकेज ल्याएसँगै कोसी अस्पतालमा राखिएको मेसिन बिग्रिएकोमा हाल मर्मतपछि सञ्चालनमा रहेको र महानगरपालिकाले दिएको नयाँ मेसिन पनि जडानको तयारी भइरहेको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

स्वीस सरकारको सहयोगमा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिनको रिएजेन्ट सकिएपछि परीक्षण रोकिएको छ । प्रयोगशाला प्रमुख डा. जयबेन्द्र यादवका अनुसार मेसिनमा निर्माण कम्पनीकै रिएजेन्ट प्रयोग हुने भएकाले ल्याउने तयारी भइरहेको र हाल तीन ओटा साना मेसिन सञ्चालनमा रहेका छन् । मेसिनको अभावका कारण परीक्षण ढिलो हुँदा गम्भीर बिरामीले उपचार नपाई ज्यान गुमाउनु परेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले बताए । परीक्षणको नतिजा नआएसम्म उपचार गर्ने अवस्था नरहेको उनको भनाइ छ । संक्रमण परीक्षण ढिलो भएकाले अन्य बिरामीको समेत उपचार नपाई मृत्यु हुने गरेको सरोकारवालाले बताउँदै आएका छन् ।

सरकारी अस्पतालको लापरबाहीपूर्ण कार्यशैलीका कारण उपकरण बिग्रने र निजी अस्पतालमा महङ्गो शुल्कमा उपचार गराउन सर्वसाधारण बाध्य भएका छन् । यसले निजी अस्पतालको प्रवर्द्धनका लागि जानाजान सरकारी अस्पतालको सेवामा विकृति ल्याउने गरिएको आरोपसमेत लाग्ने गरेको छ ।।।