मालपोत कार्यालयहरू अब स्थानीय तहको मातहतमा

१३ भाद्र २०७७, शनिबार

सरकारले घोषणा गरेको चालु आर्थिक वर्षको बजेट वक्तव्य अनुसार ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहको मातहतमा हस्तान्तरण गरिने भएको छ। अब भने जग्गाधनीले किनबेच, नामसारी गर्दा मालपोत कार्यालय धाईराख्नुपर्दैन। आफ्नो पायक पर्ने स्थानीय तहमा नै मालपोत सम्बन्धि कामहरू हुने भएकाले जनतालाई अझ सहज हुनेछ ।

अनलाइनबाट काम हुने भएकाले कार्यालयका काम कारबाही विभागले काठमाडौंबाटै अनुगमन गर्न सक्छ। यसैका लागि सफ्ट्वेयरमा अपलोड गरिएका तथ्यांक जाँचको काम अन्तिम चरणमा पुगेको छ ।यसरी स्थानीय तहहरूलाई काम जिम्मा लगाउँदा मालपोत कार्यालयहरूले आफूकहाँ रहेका पुराना मोठ श्रेस्ताहरुलाई स्क्यान गरेर अनलाइन सफ्टवेयरमा अपलोड भने गरिसकेको हुनुपर्छ।

भू-सेवा केन्द्रमार्फतका सबै काम अनलाइनबाट गर्न सक्ने भएपछि मालपोत कार्यालयको सबै मोठ श्रेस्ताहरु स्थानीय तहमा हस्तान्तरण गरेपछि मात्रै स्थानीय तहबाटै घरजग्गा किनबेचदेखि रोक्का फुकुवासम्मको सबै काम गर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । उनका अनुसार गत वर्षको साउनमा नै श्रेस्ता स्क्यानिङको ठेक्का सम्झौता भइसकेपनि कोरोनाको महामारीका कारण तोकिएको समयमा काम समाप्त हुन नसकेको हो ।

अहिले देशभर १२६ वटा मालपोत कार्यालयहरु सञ्चालनमा छन् र तीमध्ये ६२ वटा कार्यालयको श्रेस्ता स्क्यानिङको काम अन्तिम चरणमा पुगेको छ । बाकीका कार्यालयमा पनि चाडै स्क्यानिङको काम थालिने जनाइएको छ ।

श्रेस्ता स्क्यानिङको काम अन्तिम चरणमा रहेका प्रथम चरणमा स्थानीय तहमा हस्तान्तरण हुने कार्यालयहरुमा पाँचथर, इलाम, मंगलबारे (इलाम), रंगेली (मोरङ), बेलबारी (मोरङ), धरान (सुनसरी), कटारी (उदयपुर), उदयपुर, कञ्चनपुर (सप्तरी), सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, सिमरा (पर्सा), खैरहनी (चितवन), माडी (चितवन), गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, वालिङ (स्याङ्जा), पोखरा (कास्की), लेखनाथ (कास्की), पर्वत, बागलुङ र बुर्तिवाङ (बागलुङ), कावासेती (नवलपरासी), रुपन्देही, बुटवल (रुपन्देही), चन्द्रौटा (कपिलवस्तु), लमही (दाङ), तुल्सीपुर (दाङ), सुर्खेत, टिकापुर (कैलाली), बेलौरी (कञ्चनपुर), भद्रपुर (झापा) र इनरुवा (सुनसरी) रहेका छन् ।

त्यस्तै विराटनगर (मोरङ), राजविराज (सप्तरी), जनकपुर (धनुषा), कलैया (बारा), वीरगंज (पर्सा), लगनखेल (ललितपुर), भक्तपुर, डिल्लीबजार (काठमाडौं), परासी (सुस्ता पश्चिम), तौलिहवा (कपिलवस्तु), घोराही (दाङ), नेपालगञ्ज (बाँके), गुलरीया (बर्दिया), धनगढी (कैलाली) र महेन्द्रनगर (कञ्चनपुर) मा पनि स्क्यानिङको काम धमाधम भइरहेको जानकारी प्राप्त छ ।