ज्यूँदो हुँदा नेगेटिभ मेरेपछि पोजिटिभ : विराटनगर

१४ भाद्र २०७७, आईतवार
प्रतिनिधिमूलक तस्वीर

न्युरो अस्पताल विराटनगरले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको छ। पथरीशनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्ध पुरुषको शव परिवारले बुझेर अन्तिम संस्कारको तयारी गर्नै लाग्दा पीसीआर परीक्षण रिपोर्ट शनिबार दिउँसो पोजिटिभ आएको हो।

मृतकको शव परिवारका सदस्य र आफन्तले मोरङको कानेपोखरी घरमा पुर्‍याइसकेका थिए। आफ्नो परम्परा अनुसार अन्तिम संस्कार हुँदै थियो तर कोरोना संक्रमण पुष्टि भएको खबर आएपछि नेपाली सेनाको शव व्यवस्थापन टोलीले जिम्मा लिएको थियो। पथरीका डिएसपी दिलीप सुवेदीका अनुसार कोरोना देखिएपछि सेनालाई शव बुझाइएको हो।

मोरङ जिल्लाभित्र मृत्यु भएकाहरूको शव कानेपोखरीको जङ्गलमा व्यवस्थापन गरिँदै आएको छ। मृतकको कोरोना परीक्षण गर्दा पोजिटिभ आएपछि उपचारमा संलग्न चिकित्सक तथा आफन्तहरू तनावमा परेका छन्।

सुरुमा डेङ्गुको समस्या रहेको भन्दे भदौ ३ गते न्यूरो भर्ना गरिएको थियो। टाउको दुख्ने, वाकवाकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उनको स्वाव परीक्षणका लागि कोशी अस्पतालमा पठाइएको थियो तर नेगेटिभ रिपोर्ट आयो। ‘डेङ्गु र कोरोनाको लगभग उस्तै लक्षण हुने भन्दै उपचार थालिएको थियो तर भेन्टिलेटर र आइसीयुमा राखेर उपचार गर्दा पनि बचाउन सकिएन’ अस्पतालका डाइरेक्टर इन्जिनियर रञ्जीत बस्नेतको भनाइ छ।

शनिबार बिहान ६ बजेतिर पुरुषको मृत्यु भएको थियो। मृत्युपछि संलग्न चिकित्सकहरूले शंका लागेर पुनः पीसीआर परीक्षणका लागि कोशी अस्पताल पठाइएको बसानेतले बताए। रिपोर्ट दिउँसो २.३० बजे मात्र आयो त्यतिखेर शव आफन्तले लगिसकेका थिए। भदौ ३ गते र परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका कारण परिवारलाई जिम्मा लगाइएको थियो तर मरेपछि रिपोर्ट पोजिटिभ देखियो, उनले भने।

यद्यपि पुरुषलाई पहिले नै कोरोना संक्रमण थियो वा अस्पताल ल्याएपछि भन्ने प्रश्न उब्जिएको छ। पहिले रिपोर्ट नेगेटिभ आएको तर मरिसकेपछि पोजिटिभ देखिनु पीसीआर विधिको परीक्षणको विश्वसनीयतामा उठेको विश्वव्यापी प्रश्न पनि हो।

रिपोर्ट नेगेटिभ रहेको जिकिर गर्दै परिवारजनले शव लैजान जिद्दी गरेपछि जिम्मा लगाउन बाध्य भएको अस्पतालले जनाएको छ। रिपोर्ट आउञ्जेल पर्खन आग्रह गरिएपनि नमानेको बस्नेतले जनाए।

मृतकको उपचिरमा संलग्न चिकित्सकहरूलाई तत्काल क्वारेन्टीनमा राखी परीक्षण गराइएने बस्नेतले जानकारी दिए। पथरीशनिश्चरेका मेयर दिलीपकुमार राईले पनि मृततका आफन्त तथा परिवारका सदस्यको पनि कन्ट्याक ट्रेसिङ गरी परीक्षणको दायरामा ल्याइने बताए।