संक्रमणका कारण ४९ जिल्लामा निषेधाज्ञा कायमै

मनाेप पाेख्रेल

१४ भाद्र २०७७, आईतवार
फाइल तस्वीर

विराटनगर । भदाै १४

कोरोना भाइरसको संक्रमण बढिरहेको कारण त्यसको नियन्त्रण तथा रोकथामका लागि देशका विभिन्न ४९ जिल्लामा निषेधाज्ञा जारी नै रहेकाे छ । ३९ जिल्लामा पूर्ण निषेधाज्ञा गरिएको छ भने १० जिल्लामा आंशिक निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा या लकडाउन गर्ने अधिकार प्रदेश, जिल्ला तथा स्थानीय तहलाई दिएपछि आइतबार बिहानसम्म ४९ जिल्ला र धेरै पालिकाहरूमा धेरै प्रकारका प्रतिबन्ध लगाइएको छ ।

गृहमन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेका अनुसार जिल्लामा संक्रमणको अवस्थालाई मूल्यांकन गरेर प्रमुख जिल्ला अधिकारीको आदेशमा जिल्लाभर वा आंशिक निषेधाज्ञा र पालिकाहरूमा स्थानीय तहका पदाधिकाहरूले लकडाउन, सिल तथा निषेधाज्ञा जारी गरेका छन् ।

३९ जिल्लामा पूर्ण निषेधाज्ञा गरिएको छ भने १० जिल्लामा आंशिक निषेधाज्ञा गरिएको छ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुर, तराईका सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, सुनसरी, सर्लाही, सिरहा, रौतहट, लगायतका जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै गरेर संखुवासभा, रुपन्देही, चितवन, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्यूठान, दैलेख, कञ्चनपुर, डडेल्धुरा, तेह्रथुम, बैतडी, कपिलवस्तु, नवलपरासी पश्चिम, डोल्पा, मोरङ, डोटी र दाङमा पनि पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।

नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ ,रुकुम पश्चिम र जाजरकोटमा भने आंशिक निषेधाज्ञा गरिएको छ । त्यसस्तै गुल्मी, लमजुङ, उदयपुर, कालिकोट र पाँचथरमा लगाइएको निषेधाज्ञा भने हटाइएको गृहमन्त्रालयका सुचना अधिकारी लामिछानेले जानकारी दिएका छन् ।