सिमकार्ड पुनबिक्री सम्बन्धि नयाँ व्यवस्था, एकबर्ष नपुगी बेच्न नपाइने

मनाेज पाेख्रेल

१४ भाद्र २०७७, आईतवार

विराटनगर । भदाै १४

नेपाल दूरसञ्चार प्राधिकरणले हालैमात्र सिम कार्ड प्रयोग सम्बन्धि नयाँ व्यवस्था जारी गरेको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनीले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् ।

यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायक कम्पनीलाई थियो । ‘अब सिमकार्ड प्रयोग नभएको एक वर्षपछि मात्र सेवा प्रदायकले सिमकार्ड पुनः बिक्री गर्न पाउने छन्’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने ।

सिमकार्ड खरिद गर्ने तर प्रयोग नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्राधिकरणले पहिलोपटक २०७१ चैत २ गते ६ महिनासम्म निस्कृय रहेको सिमकार्ड पुन विक्री गर्न पाउने निर्णय गरेको थियो । प्रयोगविहीन सिमकार्ड निस्कृय गर्नुपर्ने अवधि अहिले पनि छ महिना नै कायम छ तर त्यसरी निस्कृय गरेको छ महिनासम्म बिक्री गर्न नपाउने गरी प्राधिकरणले निर्णय गरेको हो ।

छोटो समयमै सिमकार्ड पुनः बिक्रीको गर्न पाउने सुविधाले त्यही नम्बर प्रयोग गरिएको बैङ्क खाता, सामाजिक सञ्जाललगायतको डेटा असुरक्षित रहनसक्ने सम्भावनालाई ध्यानमा राखेर यस्तो निर्णय भएको प्रवक्ता अर्यालले बताएका छन् ।

नम्बर दुरुपयोग हुनसक्ने सम्बन्धमा नेपाल बैङ्कर्स सङ्घले पनि सिमकार्ड पुन बिक्रीको अवधि दुई वर्ष पुर्याउन प्राधिकरणलाई अनुरोध गरेको थियो, तर सिमकार्ड सीमित स्रोत भएकाले एक वर्षसम्म बिक्री गर्न नपाउने निर्देशन जारी गरेको प्रवक्ता अर्यालको भनाई छ ।

प्राधिकरणका अनुसार छोटो समयमा नै सिमकार्ड बिक्री गर्ने सुविधाले गर्दा सेवाग्राहीको डेटा असुरक्षित रहने भन्दै पुनः बिक्रीको लागि समय लम्बाइएको जनाइएको छ ।