विराटनगरका ४२ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए

१४ भाद्र २०७७, आईतवार

विराटनगर । भदौ १४

गत २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २ र प्रदेश १ बारिहका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

विराटनगर महानगरमा थप ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार २१ महिला र २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

मोरङ जिल्लाको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ । उता सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला र ४ पुरुष, इनरुवामा १ महिला र ५ पुरुष, धरानमा १ महिला र ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले बताएको छ ।

झापाको कन्काईमा पनि २ महिला र ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, संखुवासभाको खाँदबारीमा १ पुरुष, स्थानीय तह नखुलेकी १ महिला तथा प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३११ पुगेको बताएको छ ।

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या कूल ३२ पुगेको छ । मृत्यु हुनेमध्ये प्रदेश १ स्थायी ठेगाना भएका २३ जना छन् भने ९ जना अन्य प्रदेशका छन् । आइतबार मात्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरान १७ का २ जनाको मृत्यु भएको छ । मृत्यु हुने आमाछोरा रहेका छन् ।

प्रदेश १ मा आइतबार जम्मा ९ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५३४ पुगेको छ ।

आइतबार प्रदेशमा जम्मा १ हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । अहिलेसम्म ८७ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।