बदलिँदाे समाज- विद्यार्थीहरूले हेडमास्टर पिटे

१४ भाद्र २०७७, आईतवार
प्रतिनिधिमूलक तस्वीर

 

विराटनगर । भदाै १४

एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै गणेश मावि सिन्धुलीका विद्यार्थीहरूले प्रधानाध्यापक र शिक्षकलाई आइतबार कुटपिट गरेका छन् ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएकाले रिजल्ट नराम्रो आएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन् ।

तीनजना छात्रहरुले सरासर कार्यालय कोठामा आएर पहिला हेडसरलाई मुखमा हिर्काएको र अर्का शिक्षकलाई लछारपछार पारि कुटपिट गरेको शिक्षक झलक दाहालले बताएका छन् । विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा गम्भीर चोट लागेको छ ।

ग्रेडिङ प्रणालीमा रिजल्ट सी आएपनि विज्ञान विषयबाहेक अन्य पढ्न पाइने भन्दाभन्दै कुरै नसुनी कुटपिट गरेको शिक्षकहरुको भनाइ छ । दुबै शिक्षकहरूको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ ।

विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि कर्मचारीहरुको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् । विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये ९ जनाको रिजल्ट सी आएको र तीनै मध्येका तीनजनाले कुटपिट गरेको बताइएको छ ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय खुर्कोटलाई जानकारी गराइसकेको शिक्षक दाहालले बताएका छन् ।