खाना सर्किएर अस्पताल चहार्दा चहार्दै मृत्यु

१४ भाद्र २०७७, आईतवार
प्रतिनिधिमूलक तस्वीर

विराटनगरका कुनै अस्पतालले उपचार गर्न मानेनन्।

विराटनगर, १४ भदौ । विराटनगरका नीजि कुनै अस्पतालले उपचार गर्न नमान्दा उदयपुरकी एक महिलाको मृत्यु भएको छ ।

खाना खाने क्रममा भात सर्किएर बेहाेस भएपछि ल्याइएकी उदयपुर चौदण्डीगण्ढी नगरपालिका–६ की ६५ वर्षीय डम्बरकुमारी बस्नेतको विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको हो ।

शनिबार खाना खानेक्रममा साँझमा भात सर्किएपछि उनी बेहोस भएकी थिइन् । बेहोस अवस्थाकी बस्नेतलाई आफन्तले प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार पुर्‍याएका थिए तर अवस्था गम्भीर भन्दै प्राथमिक स्वास्थ्य चौकीले विराटनगर रेफर गरेपछि बिरामी लिएर विराटनगरका सबै अस्पताल चहार्दा पनि कुनैले भर्ना लिन मानेनन्।

राती ९ बजे उदयपुरबाट हिँडेको एम्बुलेन्स ११ बजे विराटनगर आइपुगेको थियो । भर्ना पाउने आशमा राति ९ बजेदेखि साढे आइतबार बिहान साढे २ बजेसम्म आफन्तहरू एम्बुलेन्समा घुमिरहे । मेडिकल क्षेत्रमा प्रतिष्ठित मानिएको विराटनगरका कुनै पनि अस्पताल उनको उपचारका लागि तयार भएनन् ।

‘सुरुमा विराट नर्सिङहोम ल्याइयो । बिरामी हेरेर आइसियू छैन भन्दै फर्काइदिए,’ एम्बुलेन्स चालक दीपक खत्रीले भने, ‘विराटनगरका सबै अस्पतालतिर घुमिरह्यौं । धरानमा संपर्क गर्दा पनि नल्याउनू भनियो।’

खत्रीले गम्भीर अवस्थाकी बिरामी बोकेर विराट नर्सिङहोम तथा गोल्डेन अस्पताल पनि पुर्‍याएका थिए । गोल्डेनले पनि गेटबाटै फर्काइदियो । गोल्डेनले फर्काएपछि फेरि बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज पुर्याइयो । मेडिकल कलेजले पनि उनलाई भर्ना नगरेपछि फेरि विराटनगर नै फर्काए ।

विराटमा नभएपछि म्याक्स अस्पताल, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताल हुँदै अन्तिममा ग्रिनक्रस अस्पताल पुर्‍याए । नोबेल मेडिकलमा बुझ्दा यहाँ नल्याउनु भन्यो । कोशी अस्पतालमा भेण्टिलेटर नभएकाले त्यहाँ पनि आफन्तले पुर्‍याएनन् । ‘कोशीमा भेण्टिलेटर थिएन, नोबेलले पनि नल्याउन भन्यो,’ चालक खत्रीले भने, ‘धरानमा सम्पर्क गर्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि बेड छैन भनेपछि घर लग्यौं ।’

आफन्त डिल्लीराम खतिवडाका अनुसार आइतबार बिहान घर पुगेको केही घण्टापछि महिलाको मृत्यु भयो।

यसबारे सोधखोज गर्दा प्रमुख जिल्ला अधिकारी भन्छन् – कानून सम्झाउँछु

निजी अस्पतालहरूले बिरामी भर्ना नगर्दा समस्या आएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताएका छन् । नीजि अस्पतालको लापरवाहीले बिरामीले ज्यान गुमाउनुपर्ने समस्या आएको बताउँदै उनले सोमबार निजी अस्पताल सञ्चालकलाई छलफलका लागि बोलाइएको बताए ।

‘बिरामीको पीसीआर रिपोर्ट छैन भन्दै बिरामी भर्ना गर्न मान्दैनन् ,’ उनले भने, ‘छलफलका लागि बोलाइएको छ । कानूनका बारेमा सम्झाउछौं ।’ अटेर गरिरहे कारबाही थाल्ने उनले बताएका छन्।

पूर्वाञ्चलको मिडिया हबको रूपमा चिनिएको विराटनगरमा कोरोना संकटको नाममा बिरामीहरूमाथि लापरबाही बढिरहेको छ। यसबारे सरकारको ध्यान आकृष्ट हुन जरू