आइसोलेसन सेन्टर निर्माणमा जुट्यो इटहरी सरकार

१५ भाद्र २०७७, सोमबार

इटहरी उपमहानगरपालिकाले कोरोना सङ्क्रमितको व्यवस्थापनका लागि एक सय बेडको आइसोलेसन सेन्टर निर्माण गर्ने भएको छ । मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले इटहरी ९ स्थित क्षेत्रीय रंगशालामा निर्माणाधिन आइसोलेसन सेन्टरको निर्माण छिटो सम्पन्न गरी लक्षण नदेखिएका संक्रमित राख्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको २० लाख रुपैयाँको सहयोगमा निर्माण भइरहेको आइसोलेसन सेन्टर निर्माण खर्चिलो हुने भएकाले उपमहानगरपालिकाले सहयोगका लागि अपिलसमेत गरेको छ । जस अनुसार खानेपानी र विद्युत् जडानको काम सम्बन्धित निकायको सहयोगमा जारी रहेको छ । यस्तै, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले संघका तर्फबाट तीन महिनाका लागि सेन्टरलाई खाद्यान्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसैगरी, गोरखा वेलफेयरले पाँच सय लिटर क्षमताको पानी ट्यांकी जडान गरिदिएको छ । सेन्टर सञ्चालनका लागि मेयर चौधरीको अध्यक्षतामा मुल समिति र अन्य विभिन्न उपसमितिहरु सक्रिय रहेका छन् ।।।