पहिरोमा पुरिएर १० जनाको मृत्यु

मनोज पोख्रेल

१५ भाद्र २०७७, सोमबार
Remains of houses seen where seven people were killed in a landslide in Pyuthan Municipality, on Wednesday, July 27, 2016. Photo Courtesy: Pashupati Pandit

 

आइतबार दिउँसो कालिकोट स्थित नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

पहिरोमा पुरिएर सोही स्थानका ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको इन्सपेक्टर यक्षराज जोशीले जानकारी दिए ।

यसैगरी अर्को एक परिवारका तीन सदस्यको पनि सोही पहिरोमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको छ । यसैगरी ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि सोही पहिरोमा ज्यान गएको इन्सपेक्टर जोशीले जानकारी दिए ।

मृत्यु भएकाको शव सदरमुकाम ल्याउन नसकिने भएकाले मृतकको पोष्टमार्टम घटनास्थलमा गरिँदै छ । त्यसका लागि डाक्टरहरुको टोली खटाइसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए । घटनास्थलबाट सदरमुकाम आइपुग्न समय लाग्ने र बाटोमा पहिरो गएकाले समस्या हुदा घटनास्थलमै पोस्टमार्टमका लागि निर्देशन दिएको प्रजिअ गैरेले बताए ।