अर्थमन्त्रीलाई काखी च्याप्दै प्रधानमन्त्री

१५ भाद्र २०७७, सोमबार

आगामी भदौ २१ गते म्याद सकिन लागेका अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि थपिने आँकलन गरिएको छ।

कमजोर कार्यसम्पादनका कारण पार्टीभित्रै आलोचित बनेका मन्त्री खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । राष्ट्रिय सभामा कार्यकाल पूरा भएपछि खतिवडाले ६ महिना म्याद थप गर्न सकिने संवैधानिक व्यवस्था अनुरुप खतिवडाले गत फागुनमा राजिनामा दिई पुन: सोही पदको सपथ ग्रहण गरेका थिए । राष्ट्रियसभा सदस्य पद रिक्त भएपछि खतिवडालाई नै दोहोर्याउने वा वामदेव गौतमलाई पठाउनेबारे विवाद रहेको छ । फागुन १४ गतेको सचिवालय बैठकले वामदेव गौतमलाई पठाउने निर्णय गरेकोमा प्रधानमन्त्री ओलीले सो निर्णय नमान्ने बताएपछि उत्पन्न विवाद हालसम्म कायमै छ । आगामी १८ गते बस्ने सचिवालय बैठकले यसबारे निर्णय गर्ने नेकपा नेताहरुको भनाइ छ । सचिवालयमा विवाद बढेमा प्रधानमन्त्री पछाडि हट्न पनि सक्ने केही नेताहरुको बुझाइ छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच खतिवडाबारे सचिवालयले निर्णय गर्ने सहमति भएको छ । खतिवडाको पदावधि थप्ने वा नथप्ने कुराले मन्त्रिपरिषद् पुनर्गठनमा समेत प्रभाव पार्ने नेकपा नेता सुवासचन्द्र नेम्वाङले बताए । सचिवालयमा गौतमको बहुमत भएपनि उनी राष्ट्रियसभामा जान इच्छुक नरहेको एक नेताले बताएका छन् । प्रधानमन्त्री ओली चुनाव हारेका गौतमलाई भन्दा आफ्ना विश्वासपात्र खतिवडालाई राष्ट्रियसभा सदस्य बनाउन इच्छुक रहेका छन् । यद्यपि प्रधानमन्त्रीप्रति बफादार खतिवडाले नागरिकको हितलाई ध्यानमा राखेर काम गर्न नसकेको भन्दै नागरिक स्तरबाट आलोचना भइरहेको छ। तर, उनको कार्यकालमा अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने केही नीतिगत सुधार भने भएका छन् ।।।