राष्ट्रपति लुकासेन्को विरुद्ध बेलारुसमा प्रदर्शन

१५ भाद्र २०७७, सोमबार
एजेन्सी

बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले निर्वाचनमा धाँधली गरेको भन्दै विपक्षी दलले लुकासेन्कोको राजीनामाको माग गर्दै राजधानी मिंक्समा बृहत् प्रदर्शन गरेको छ । हजारौं प्रदर्शनकारीहरुले सरकार विरुद्ध नारा लगाउनुका साथै सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरु राष्ट्रपति निवासतर्फ अघि बढेपछि प्रहरीले रोक्ने क्रममा झडप समेत भएको छ । प्रहरीले प्रदर्शनमा सहभागी १ सय २५ भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।

बेलारुसले सरकारविरोधी प्रदर्शनबारे रिपोर्टिङ गरेको भन्दै दुई जना बीबीसी र चार जना रेडियो लिबर्टीका गरेर १७ जना विदेशी पत्रकारहरुलाई पनि देश निकाला गरेको छ । बाँकी अधिकांश रोयर्टस न्युज एजेन्सीका रहेका छन् ।

बेलारुसमा अगष्टको राष्ट्रपतीय निर्वाचनमा धाँधली गरी लुकासेन्को राष्ट्रपति बनेको भन्दै तत्काल पद त्याग गर्न माग गर्दै नियमित जस्तो आन्दोलन हुँदै आएको छ ।