आईसीयू र भेन्टिलेटरको समस्या, स्वास्थ्य मन्त्रालय भन्छ ‘अहिलेलाई पर्याप्त छ’

१५ भाद्र २०७७, सोमबार

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्न थालेको छ । उपत्यका लगायत देशका विभिन्न भागमा संक्रमितको संख्या दिनप्रदिन बढ्दा जोखिम झन् बढेको छ ।

स्वास्थ्य मन्त्रालयले समुदाय स्तरमा कोरोना संक्रमण नफैलिएको दाबी गरिहँदा लक्षणसहितका संक्रमित दीर्घरोगी बढ्न थालेसँगै आईसीयू र भेन्टिलेटरको अभाव सृजना हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म संक्रमितको उपचार गर्नका लागि स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभाव नभएको बताउँदै आएको छ तर अवस्था भने भनाई अनुरुपको छैन ।

बागमती प्रदेशमा आइतबारसम्मको तथ्यांकमा कोरोना संक्रमितको संख्या सबैभन्दा बढी छ । बागमती प्रदेशमा ७० जना आईसीयू र १२ जना भेन्टिलेटरमा रहेको तंथ्याङ्कमा उल्लेख गरिएको छ । उता प्रदेश १ मा १७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका छन् । प्रदेश २ मा ३८ जना भने गण्डकी प्रदेशमा ३ जना रहेका छन् । प्रदेश ५ मा १६ आईसीयू र २ जना भेन्टिलेटरमा रहेको तंथ्याङ्कमा उल्लेख गरिएको छ ।

सबै भन्दा धेरै आईसीयू र भेन्टिलेटरमा उपचाररत बाग्मती प्रदेशमा छन् थोरै गण्डकी प्रदेशमा संक्रमित रहेका छन् । हालसम्म १७ जना भेन्टिलेटरमा र १ सय ४४ जना संक्रमित आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

केही भेन्टिलेटरहरू पाइपलाइनमा रहेको मन्त्रालयले बताउँदै आएको छ । समुदायस्तरमा ट्राभल हिस्ट्री नभएका दीर्घरोगीमा कोरोना संक्रमण देखिनुका साथै संक्रमितको संख्या बढ्दै जना थालेपछि सरकारले प्रत्येक पालिकामा अस्पतालमा बनाउने मन्त्रालयले जनाएको छ ।

केन्द्रीय, प्रदेशिक र पालिकामा गरि ६ हजार आइसोलेसन बेड थप्ने तयारी भइरहेको छ । यस्तै पालिकामा हुने ५ बेडको अस्पतालका लागि एक जना डाक्टर र एक जना नर्सको व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।