अपहरण गरेको भन्दै कोरोनामुक्त भएका युवकले तमासा गरेपछि

१५ भाद्र २०७७, सोमबार

 

भक्तपुरको सल्लाघारीमा गएराति एकजना पुरुषले आफू अपहरणमा परेको भन्दै एम्बुलेन्स तोडफोड गरेका छन् । रातको १० बजे मुल सडकमा एम्बुलेन्सको सिसा फुटाएर अपहरणमा परेको भन्दै बाहिर निस्केपछि स्थानियले तत्काल प्रहरीलाई खबर गरे ।

प्रहरी आएपछि थाहा भयो ती व्यक्ति भक्तपुर नगरपालिका- १० घर भएका १० दिन अघि कोरोना भाइरस पोजेटिभ देखिएपछि सशस्त्र प्रहरी बलको बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेसनमा भर्ना भएका व्यक्ति रहेछन् ।

पीसीआर जाँच रिपोर्ट नेगेटिभ आएपछि एपीएफ अस्पतालले उनलाई डिस्चार्ज गरेर प्रदेश ३–०१–००२ झ ५२३० नम्बरको एम्बुलेन्समा घर पठाएको थियो । तर, सल्लाघारी पुगेपछि उनले मलाई अपहरण गर्यो भन्दै आफूलाई घर छाड्न हिँडेको एम्बुलेन्सको सिसा फुटाएर आतंक मच्चाउन थालेपछि एम्बुलेन्स चालक तनावमा परे । मलाई अपहरण गरेर ल्यायो भनेपछि स्थानीयले चालकलाई घेरा हाले । प्रहरी आएपछि मात्र अवस्था अलिक साम्य भएको थियो ।

‘अपहरणमा परेको दाबी गरेपनि वास्तविकता त्यस्तो थिएन’ महानगरीय प्रहरी परिसर जगातेका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रराज जोशीले भने–‘एम्बुलेन्सको क्षति भएको सिसा मर्मत गर्नेगरी हामीले उहाँलाई परिवारको जिम्मा लगाएका छौं ।’ अचानक किन उनले ‘अपहरणमा परेँ’ भन्दै आतंक मच्चाए भन्नेमा प्रहरी नै चकित परेको छ ।