अदालतको मानहानी मुद्दामा वकिल प्रशान्त भूषणलाई एक रुपैयाँ जरिवाना

१५ भाद्र २०७७, सोमबार

भारतको सर्वोच्च अदालतले आफ्नो मानहानी अभियोगमा दोषी ठहर गरेका प्रशिद्ध वकिल प्रशान्त भूषणलाई एक रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ ।

सर्वोच्च अदालतले सोमबार सजाय सुनाउँदै एक रुपैयाँ (भारु) जरिवाना तिर्नु पर्ने फैसला गरेको हो । उनले गरेका दुई ट्वीटले सर्वोच्चको मानहानी भएको भन्दै प्रशान्त भूषण दोषी ठहर भएका हुन् ।

यसअघि नै दोषी ठहर गरी आफ्नो फैसला सुरक्षित राखेको सर्वोच्च अदालतले सोमबार सजाय सुनाएको हो । प्रधानन्यायाधीश एस ए बोबडे र सर्वोच्चको आलोचना गरी प्रशान्तले ट्वीट गरेका थिए । अदालतले प्रशान्तलाई अदालतसँग माफी माग्न या आफ्नो टिप्पणी फिर्ता लिन भनेको थियो, तर उनले स्वीकार गरेनन्।

आफ्ना अन्तरआत्मा र अदालतको मानहानीको सम्मानका लागि आफूले माफी नमाग्ने र टिप्पणी पनि फिर्ता नलिने बताएका थिए प्रशान्त भूषणले । सर्वोच्च अदालतले आफ्नो आलोचना स्वीकार गर्नु पर्ने तर्क प्रशान्तका वकिलले सुनुवाईको क्रममा तर्क गरेका थिए ।

प्रशान्तले जुन २९ मा महंगो बाइकमा बसेका सर्वोच्च न्यायाधीश बोबडेको तस्बिर ट्वीट गरेर टिप्पणी गरेका थिए । यस्तै अर्को ट्वीटमा भारतको अवस्थालाई लिएर पछिल्ला चार प्रधानन्यायाधीशको भूमिकामा आफ्नो विचार प्रस्तुत गरेका थिए ।

त्यसमा आफै अग्रसर भएर सर्वोच्चले प्रशान्तविरुद्ध अपहेलनाको मुद्दा चलाएको हो । न्यायाधीश अरुण मिश्रा नेतृत्वको बेन्चले अगस्ट २५ मा सुनुवाई सकेर सजायको फैसला सुरक्षित गरेको थियो ।